Logo

बाँकेमा एकैदिन थप तीन सङ्क्रमितको मृत्यु



बाँके, १४ बैशाख । बाँकेमा अस्पतालमा उपचाररत थप तीनको कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा दुई र भेरी अस्पताल नेपालगञ्जमा एक जना गरी तीनको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–३ बाँके निवासी २६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१ निवासी ६० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–९ दाङ निवासी ७४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कोहलपुरकी ६० वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पताल कोहलपुरमा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि यही वैशाख ११ गते भेरी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो । उहाँको आज मृत्यु भएको हो । यसैगरी दाङ निवासी ७४ वर्षीया महिलाको वैशाख १२ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि भर्ना गरी उपचारका क्रममा आज मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले बताए ।

स्वास्थ्यमा समस्या आएपछि आइतबार नेपालगञ्ज मेडिकल कलेजमा परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि प्रिआइसोलेशनमा भर्ना भएका नेपालगञ्ज–३ निवासी २६ वर्षीय पुरुषको गए राति मृत्यु भएको थियो । यससँगै बाँकेमा कोभिड उपचारका लागि जिल्ला बाहिरबाट आएका १०६ र बाँके जिल्लाकै ९२ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्