Logo

पुनः सुनसान बन्यो सौराहा



सौराहा, १४ बैशाख । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो ।

क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निरासा छाएको छ । होटलले बिदामा राखिएका मजदूर फिर्ता बोलाएको, मर्मतसम्भार गरेर होटललाई थप सुबिधा सम्पन्न बनाइएको भए पनि कोरोनाको दोस्रो लहरसँगै व्यवसाय ठप्प भएका छन् । अब समस्या नआउने अनुमानसहित व्यवसायीले ऋण थपेर होटलमा लगानीसमेत बढाएका थिए । अधिकांश होटलले ऋण बढाएर बैंकको व्याज तिरेका हुन् । उनले भने “अब साउनसम्म व्यवसाय राम्रो होला भन्ने हाम्रो अपेक्षा थियो ।” सौराहाका होटलमा धेरै व्यवसायिक कार्यक्रमका लागि बुकिङ् आएका थिए । तीसँगै आन्तरिक पर्यटकका बुकिङ पनि रद्द भएका छन् ।

कोभिडका कारण दैनिक रु ८० देखि ८५ लाख नोक्सान सौराहामा बेहोर्नुपरेको उनी बताउछन् । अघिल्लो वर्षको चैतदेखि होटल बन्द थिए । यसभन्दा अघिल्लो वर्षमा यतिवेला ८० देखि ८५ प्रतिशत बुकिङ् हुने गर्दथ्यो । अहिले पनि ८० प्रतिशतसम्म बुकिङ पुगेकोमा एकाएक कोरोनाको दोस्रो लहर आएपछि होटल व्यवसाय प्रभावित भएको उनको भनाइ छ ।

हिजो आजका धेरै कार्यक्रम रद्द भएका छन् । उनले भने “मेरै होटलमा आजबाट चार दिनसम्म हुने भनेको कार्यक्रम स्थगित भयो ।” हाल सौराहा सु्नसान हुँदै गएको छ । अहिले सौराहामा पाँच प्रतिशत हाराहारी मात्र अकुपेन्सि रहेको छ । “अब मजदूरलाई के गर्ने रु ऋण कसरी तिर्ने रु सबैको चिन्ता यही छ ।” उनले भने ।

युनिक वाइल्ड रिसोर्टमा यही वैशाख १२ गतेदेखि पूर्वनिर्धारित एमआरका दुइवटा कार्यक्रम कोभिडको त्रासले रद्द भयो । रिसोर्टका सञ्चालक गुणराज थपलियाका अनुसार वैशाख ११ र १२ गतेकालागि तय भएको अन्तरराष्ट्रिय क्लवको कार्यशाला पनि रद्द भएको छ । उनले एकाएक कोरोना बढेपछि होटल पूर्ण रुपमा प्रभावित भएको बताए । उनले भने “कोरोनाको पहिलो लहरको प्रभाव न्यूनिकरण हुन नपाउँदै दोस्रो देखिएसँगै निराशा पैदा भएको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्