काठमाडौं, बैशाख १७ । भारतमा कोरोना सङ्क्रमणबाट एकैदिन ३६ सयभन्दा बढीको मृत्यु भएको छ। यूके भेरियन्ट र भारतमै देखिएको नयाँ भेरियन्टसहित कोरोना महामारीको दोस्रो लहर खेपिरहेको भारतमा पछिल्लो २४ घण्टामै ३५ सयभन्दा धेरैको ज्यान गएको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै एकैदिन तीन लाख ८६ हजार आठ सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
एकैदिन सङ्क्रमण पुष्टि र ज्यान गुमाउनेको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सङ्क्रमण पुष्टि हुने क्रमसँगै अस्पतालमा भर्ना हुने दर पनि बढेकाले अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको चरम अभाव भइरहेको छ। यसैबीच ब्राजिलमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार लाख नाघेको छ
पछिल्लो २४ घण्टामा २८ सय ४३ जनासहित ब्राजिलमा अहिलेसम्म चार लाख एक हजार एक सय ८६ जनाको ज्यान गएको हो। भारतपछि ब्राजिलमा पनि महामारीको सङ्कट उत्कर्षमा रहेको छ।
विश्वमा अहिलेसम्म १५ करोड १० लाख जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ३१ लाख ७७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन्। १२ करोड ८४ लाखभन्दा धेरै निको भएका छन्।