काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले पछिल्लो कोरोनाको दोस्रा छालमा सरकार चुकेको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो लहर आउँछ भनेर विज्ञहरुले भन्दापनि बेवास्ता गरेको उनको गुनासो छ । उनले सरकारले पूर्व तयारीमा ध्यान नदिएको बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कोभिडमा हजारौं मानिसलाई अक्सिजन दिनुपर्ने भएकोले आफूले लिखित रुपमै तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सुझाव दिएको तर त्यसमा सुनुवाई नभएको पनि गुनासो पोखे । सरकारले अब कोभिड आउँदैन र नेपालीले जिते भनेर भन्नु पनि अर्को गल्ती भएको थापाको टिप्पणी छ। भारतमा अक्सिजनको अभाव र हाहाकार भएपछि नेपालले पर्याप्त तयारी गर्नुपर्ने थियो भन्ने उनको भनाई छ ।
तर, नेपाल सरकारले त्यसमा पनि गम्भीरता नदेखाएको उनको टिप्पणी छ । सिलिण्डरको अभावभन्दापनि उत्पादनको अभाव भएको कुरालाई सरोकारवालाहरुले बेवास्ता गरेको र सिलिण्डर मगाउनतिर बढि समय खर्चिएको पनि थापाको भनाई छ । सरकारले तत्काल कार्ययोजना बनाउनुपर्ने र आफूहरु त्यसलाई पछ्याउन तयार रहेको थापाले विश्वास दिलाए ।