Logo

प्रधानन्यायाधीशको इजलाशमा प्रधानमन्त्रीका शपथसम्बन्धी रिटमाथि सुनुवाई



काठमाडौं, ३४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ वैशाखमा लिएको पद तथा गोपनीयताको शपथविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशरजंग केसीसमेत, अधिवक्ता राजकुमार सुवालसमेत, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सपथ त्रुटीपूर्ण भन्दै हालेको रिटमाथि मङ्गलबार सुनुवाईका लागि तोकिएको पेशी प्रधानन्यायाधीशको इजलाशमा हुने तय भएको हो ।

सपथ त्रुटीपूर्ण भन्दै बदरको माग गरी सर्वोच्चमा रिट परेपछि यसको सुनुवाई तय भएको हो । रिट आइतबार दायर भएकोमा सोमबार दर्ता भएको थियो । शपथकै बीचमा ओलीले केही शब्द छुटाएका थिए भने राष्ट्रपतिले दोहोर्याएर भन्दा त्यो पर्दैन भनेका थिए ।

रिट निवेदकहरुले संविधानको धारा ८० अनुसार सपथ बदर गरेर पुनः सपथ गराउन माग गरेका छन् । अब सर्वोच्च अदालतले प्रधानमन्त्रीले पुनः शपथ गर्नुपर्ने हो या होइन छिनोफानो गर्नेछ । प्रधानमन्त्री ओलीले पुनः सपथ गर्नुपरे मन्त्रीहरुले पनि पुनः शपथ गर्नुपर्ने हुन्छ ।

यसैगरी, पूर्वमाओवादीका सातजना मन्त्रीको नियुक्ति बदरको माग गर्दै दायर रिटमाथि पनि सुनुवाई हुँदैछ । रिटमा सांसद नभएका सातमन्त्रीको पुनःनियुक्ति बदरको माग गरिएको छ । पूर्वमाओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा सांसद छैनन् ।



प्रतिक्रिया दिनुहोस्