काठमाडौं, जेठ ९ । कोरोना भाइरसको दोस्रो लहरको संक्रमणले मुलुक आक्रान्त छ। मुलुकमा पछिल्ला दिनमा कोरोना संक्रमणबाट सरदर डेढ सयदेखि दुई सयजनाको मृत्यु भइरहेको छ। गण्डकी प्रदेशमा पनि पछिल्ला दिनमा सरदर २० जनाको संक्रमणबाट ज्यान गइरहेको छ। संक्रमितले अस्पतालमा भर्ना पाउन कठिन छ।
शय्या र अक्सिजन अभावमा स्वास्थ्य प्रणाली काम गर्न नसक्ने अवस्थामा पुगेको गुनासो सुनिन थालेको छ। संक्रमण फैलिन नदिने भन्दै अधिकांश जिल्लामा निषेधाज्ञा लगाइएको छ। एक प्रकारले मुलुक लकडाउन सरह छ। गरिखानेहरू घरबाट बाहिर निस्कन पाएका छैनन्। धेरैको घरमा बिहानबेलुकी चुलो बल्न मुस्किल हुन थालिसकेको छ। कोरोनाविरुद्ध सिंगो समुदाय, बस्ती, संघसंस्था लागिपरेका छन्। स्वदेशभित्रबाट मात्र नभई विभिन्न देशमा रहेका नेपालीले पनि गच्छेअनुसार सहयोग गरेर संक्रमितको ज्यान बचाउने प्रयत्न गरिरहेका छन्। विभिन्न मुलुकले पनि स्वास्थ्य सामग्री पठाएर नेपालीको पीडामा राहत थपिरहेका छन्।
कोरोनाले आतंक मच्याइहेको यस्तो अवस्थामा पनि सरकारले ‘कामकुरो एकातिर कुम्लो बोकी…तिर’ भनेजस्तै चुनाव घोषणा गरेको छ। तर सर्वसाधारण सरकारले महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गरेको प्रति पटक्कै खुसी छैनन्। यो बेला सरकारको ध्यान र प्राथमिकता चुनावभन्दा महामारीबाट जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने नागरिकको भनाइ छ। सामाजिक सञ्जालमा पनि जनताको ज्यान बचाउन छाडेर सरकारले चुनाव घोषणा गरेको भन्दै असन्तुष्टि प्रकट भएको छ।
सरकारले कोरोना महामारी बिर्सेर चुनाव घोषणा गर्दा जनतामाथि अन्याय भएको पोखरेलीको भनाइ छ। राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका कास्की अध्यक्ष विष्णुहरि अधिकारी भन्छन्, ‘यो बेला कोरोना महामारीविरुद्ध सरकारको प्राथमिकता हुनुपर्ने हो तर सरकारले त्यसप्रति चासो देखाएन।’ कोरोनाको यो महामारीमा सरकारले खोप किनेर जनतालाई लगाइदिनुपर्नेमा चुनाव घोषणा गरेर गलत काम गरेको उनले बताए।
‘चुनावमा खर्च हुने रकमले खोप किनेर ल्याउने, अस्पतालमा भेन्टिलेटर थप्ने, अक्सिजन सिलिन्डर थप्ने र प्लान्ट विस्तार गर्नुपर्ने हो। तर बेमौसमी बाजा बजाउने काम भएको छ,’ अधिकारीले भने, ‘एकातिर जनता रोगले मरेका छन अर्कोतिर मुलुक नै ऋणमा डुब्ने अवस्था छ। मुलुक ऋणमा डुब्नुको अर्थ आर्थिक भार जनतामाथि नै थोपरिनु हो। कोरोनाले काम नपाउँदा जनताको चुलो बल्न सकेको छैन।’
राजनीतिक दलहरूले जनताभन्दा सत्तालाई ध्यानमा राख्दा समस्या भएको उनको बुझाइ छ। नागरिक दैनिकबाट