काठमाडौं, ११ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचार व्यवस्थापनमा नेपाल प्रहरी अस्पताल सक्रिय रहेको छ ।
निषेधाज्ञा कार्यान्वायन तथा शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा अहोरात्र ड्यूटीमा खटिने प्रहरी कर्मचारीहरुको स्वास्थ्य सुरक्षा एवम् कोभिड–१९ बाट संक्रमण भएको अवस्थामा उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनश्रोत तथा जनशक्तिको व्यवस्थापन, थप बेड तथा आकस्मिक उपचारको व्यवस्था गरी अस्पतालले सक्रियता बढाएको जनाएको छ ।
हालसम्म ३ हजार १ सय ४१ जना कोभिड सङक्रमित बिरामीहरूले नेपाल प्रहरी अस्पतालमा निस्शुल्क उपचार सेवा लिई डिस्चार्ज भएका छन् । हालसम्म उपचाररतमध्ये ९२ प्रतिशत प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवारले सेवा प्राप्त गरेका छन् । उपचारको क्रममा ७३ जनाको निधन भएको छ । अस्पतालले हालसम्म १७ हजार ३ सय ६४ जनाको निस्शुल्क पिसिआर परीक्षण गरेको छ । परीक्षण गरिएकामध्ये ४ हजार ३ सय ६९ जनामा सङक्रमण पुष्टि भएको छ ।
हाल अस्पतालमा कोभिडबाट सङ्क्रमित १ सय ८७ जनाको भर्ना लिई निस्शुल्क उपचार भईरहेको छ । उपचाररतमध्ये ३० जना आईसियुमा, ८० जना एचडियू (हाई डिपेन्डेन्सी यूनिट)मा र ७७ जना माइल्ड अवस्थाका रहेका छन् । उपचाररतमध्ये प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी १ सय ३३ जना तथा ५४ जना सर्वसाधारण नागरिक रहेका छन् । अस्पतालको साथै महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज, महानगरीय प्रहरी पहरा गण सामाखुशी र विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा समेत आइसोलेशनमा राखी उपचारको व्यवस्था गरिएको छ ।
नेपाल प्रहरी अस्पतालमा साविक १ सय ५० वेड रहेका थिए । अस्पताललाई लेवल-२ मा स्तरोन्नति गरिएपछि १ सय ५० बेड थप गरी जम्मा ३ सय वेड उपलब्ध छन् । ती मध्ये २ सय ६४ कोभिड र ३६ नन कोभिड बिरामीको लागि प्रयोग भएको छ । कोभिडतर्फको २ सय ६४ मध्ये १ सय ५४ साधारण, ८० एचडियू (हाई डिपेन्डेन्सी यूनिट) र भेन्टिलेटर सहितका २० तथा भेन्टिलेटर बाहेकका १० गरी ३० आईसियु वेड रहेका छन् ।
अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन गरिएका काम र विविध प्रयासबारे अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह भन्छिन्, ‘अस्पतालमा फिभर क्लिनिक स्थापनाको साथै कोभिड-१९ र नन-कोभिड विरामी छुट्याई विरामीको अवस्था अनुसार इमरजेन्सी सेवा, डायलायसिस, शल्यक्रिया आदिको समेत व्यवस्था मिलाई प्रत्यक्ष रुपमा विशेषज्ञ चिकित्सकबाट सेवा उपलव्ध गराईएको छ ।’
कर्मचारीहरुको दक्षता अभिवृद्धिका लागि अस्पतालका ८६ जना प्रहरी कर्मचारीले कोभिड-१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट तालिम हासिल गरेका छन् । उनीहरुबाट नेपाल प्रहरी अस्पतालमा कार्यरत सबै चिकित्सक, स्टाफ नर्स र पारामेडिक्सहरुलाई स्वास्थ्य सेवा सम्बन्धि अनुशिक्षण तालिम प्रदान गरिएको छ ।