Logo

दरबार हत्याकाण्डको ‘ग्य्रान्ड डिजाइन’ कसको ?



‘साक्षीहरु जिउँदै छन्, रहस्य खुल्न सक्छ’

‘एक यस्तो हृदयका चोट, जसलाई कहिले भुल्न सकिन्न । साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतिलाई मात्र रहेछ । अनुत्तरित प्रश्नका उत्तरहरू पाउनका लागि अझै समयले कति कोल्टे फेर्नुपर्छ, कसैलाई थाहा छैन । प्रिय दाजु र उनका परिवारप्रति हार्दिक श्रद्धाञ्जलि !’

ट्वीटरमा जी. शाह (ज्ञानेन्द्र शाह) ले लेखेका छन् । ट्वीटरमा १ लाख ३७ हजार १६ जना फलोअर भएका पूर्व राजा ज्ञानेन्द्र शाहको यो ट्वीट ५ सय ५७ वटा रिट्वीट भएको छ । उनलाई एक जनाले रिप्लाई लेखेका छन्, ‘मेरा प्रिय राजा वीरेन्द्रको वंशनाश हुँदा त्यसपछि हजुर राजा हुनुभयो । तपाईंले आफ्नो दाजुको हत्यारालाई राम्रोसँग छानबिन गराउन सक्नुभएन । यो तपाईंको सबैभन्दा ठूलो कमजोरी थियो महाराज । देशी र विदेशी शक्तिले लिएर नेपालका राजाको वंशविनाश गर्ने षडयन्त्रलाई तपाईंले टुलुटुलु हेरिरहनुभयो ।’

अर्का ट्वीटर प्रयोगकर्ताले सोधेका छन्, ‘तपाईं राजा भएपछि यसबारेमा छानबिन गरेको भए हुने थियो । त्यसको विपरीत हत्या भएको ठाउँमा रहेका संरचनाहरु समेत तपाईंले हटाउनुभयो, के कारणले हो ?’ यो ट्वीटर ह्यान्डल आधिकारिक हो कि होइन भन्ने बारेमा विवाद भए पनि नेपाली जनमतको प्रतिबिम्ब पक्कै हो ।

दरबारको पर्खाल, सेनाको पहरा र आफन्तको घेराभित्रै लोकप्रिय राजा वीरेन्द्रको वंशनाश गरिएको २० वर्ष बितिसकेको छ । दुई दशकसम्म अनुत्तरित प्रश्न छ, कहालीलाग्दो राजदरबार हत्याकाण्डको ‘ग्य्रान्ड डिजाइन’ कसको हो ? प्रश्न सबैतिर तेर्सिएका छन् ।

२०५८ जेठ १९ गते मध्यरातमा भएको अकल्पनीय राजदरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र,  रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन र राजकुमारी श्रुतीसहित राजपरिवारका १० सदस्यको सामूहिक हत्या भएको थियो । हत्याकाण्ड लगत्तै तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले घटनामा हत्या गरिएका तत्कालीन युवराज दीपेन्द्रको हात रहेको औंल्याए पनि त्यसलाई स्वीकार गरिसकिएको छैन । त्यतिबेला ‘जनयुद्ध’ सञ्चालन गरिरहेको नेकपा (माओवादी) ले वीरेन्द्रका माइला भाइ ज्ञानेन्द्र शाह र छोरा पारसको हात रहेको आरोप लगाएको थियो ।

हत्याकाण्डलगत्तै राजगद्दीमा बसेका ज्ञानेन्द्र शाहले २०६२/६३ को संयुक्त जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेलगत्तै दरवार छोडेका थिए । संविधानसभा निर्वाचनमार्फत पहिलो ठूलो दलका रुपमा स्थापित भएर दुईपटकसम्म सरकारको नेतृत्वमा पुगे पनि माओवादीले दरबार हत्याकाण्डको स्वतन्त्र छानबिन गर्न चाहेन ।

कतिपय राजनीतिक विश्लेशकहरुले २ सय ४० वर्षसम्म एकछत्र राज गरेको राजतन्त्र अन्त्य हुनुमा दरबार हत्याकाण्ड प्रमुख कारण रहेको बताउँदै आएका छन् । राजा ज्ञानेन्द्रको कार्यशैलीका कारण संवैधानिक राजतन्त्रलाई आदर्श मान्दै आएका नेपाली कांग्रेस र नेकपा एमाले लगायतका दलहरु गणतन्त्र प्राप्तिका लागि माओवादीसँग १२ बुँदे समझदारी गर्न पुगेका थिए । सोही समझदारीका आधारमा भएको दोस्रो जनआन्दोलनले नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्रको स्थापना गरेको हो ।

घटनाताका प्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजतन्त्र र दलहरुबीच दूरी बढ्दै जाँदा विराटनगरमा राजालाई आफ्नो हैसियत नबिर्सन आग्रह गर्दै हत्याकाण्डको रहस्य खोल्ने संकेत गरे पनि आफ्नो जीवनको अन्तिम क्षणसम्म पनि सो कुरालाई बाहिर ल्याएनन् । कोइरालाले राजदरबार हत्याकाण्डको उक्त ‘ग्र्यान्ड डिजाइन’ खोलिदिने धम्की दिँदै भनेका थिए, ‘राजाले आफ्नो हैसियत बिर्से राजतन्त्र दुर्घटनामा पर्छ । राजाले आफू पहिले कहाँ थिएँ, कुन पृष्ठभूमिमा यहाँ आएँ, त्यो बिर्से मुलुकमा ठूलो दुर्घटना हुन्छ ।’

राजदरबार हत्याकाण्डको पर्दाफास भन्दै विभिन्न समयमा अनगन्ती पुस्तकहरु पनि प्रकाशित भए तर ती सबै पुस्तकहरुमा रहस्य र अन्दाजका कुरामात्र बाहिर आएका छन् । जे भए पनि राजदरबार हत्याकाण्ड नै गणतन्त्रको बीउ बन्यो । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड जति पुरानो हुँदै छ, त्यति नै मान्छेहरुका लागि चर्चा कमाउने र हल्ला फिजाउने विषय समेत बन्दै गएको छ । केही वर्ष अगाडि राजधानीमा पत्रकार सम्मेलन गरेर शाही गुप्तचर विभागका प्रमुख बताउने तुलप्रसाद शेरचनले राजा वीरेन्द्रको हत्या आफूले गराएको दाबी गरेर निकै चर्चा कमाएका थिए । त्यसपछि उनलाई जेल हालियो । शेरचन थुनामा परेपछि पनि हत्याकाण्डको दाबी गर्ने क्रम रोकिएन ।

वीरगञ्ज कारागारमा बन्दी जीवन बिताइरहेका एक जना कैदीले आफू हत्याकाण्डको प्रत्यक्षदर्शी भएको दाबी गरे । दीपेन्द्रका अंगरक्षक बताउने पाल्पाका लालबहादुर मगर वीरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पारसले नै गराएको दाबी गरेर चर्चामा आएका थिए । उनले त हत्याकाण्डमा राजीव शाहीले सहयोग गरेको समेत दाबी गरेका थिए । नारायणहिटीमा २५ वर्षसम्म सचिवका रुपमा काम गरेका शाही नातेदार विश्वराज शाहले पनि हत्याकाण्डमा विदेशी संलग्नता भएको दाबी गरेका थिए ।

हत्याकाण्डबारे अहिलेसम्म सबैलाई बताइएको एउटै साझा कारण हो, दीपेन्द्र र देवयानीबीचको प्रेम सम्बन्ध । बेलायतको इटन कलेजमा अध्ययनका क्रममा उनीहरुबीच सम्बन्ध बढेको हो । देवयानीलाई बुहारीका रुपमा भित्र्याउन दरबार तयार थिएन । देवयानीसँगको प्रेम जति बढ्दै थियो, दरबारभित्र गुटबन्दी पनि त्यति नै झाँगिदै थियो ।

एकअर्कालाई उकास्न दरबारियाहरुको तँछाडमछाड नै चल्यो । राजपरिवारका सदस्यहरु पनि दुई समूहमा बाँडिएका थिए । राजा, रानी, मुमा रत्न, अधिराजकुमारी श्रुती विवाहको विपक्षमा थिए भने दीपेन्द्रका काका धीरेन्द्र, भाइ निराजन, शाहज्यादा पारस, प्रेरणा र दिलसा दीपेन्द्रका पक्षमा । देवयानीसँग बिहे गरे पनि फरक नपर्ने उनीहरुको भनाइ थियो । तर वीरेन्द्र, ऐश्वर्य, मुमा रत्नसहित ठूलो जमात विवाहको विपक्षमा थियो ।

साँझको ७ बज्दै थियो । वीरेन्द्र र ऐश्वर्यले दीपेन्द्रलाई लिएर उनका मन्त्रगुरु नयनराज पाण्डेसँग विवाहको सल्लाह गरेर फर्किए । धार्मिक रंग लिएर भए पनि देवयानीलाई विवाह गर्न नदिने योजना थियो, वीरेन्द्र र ऐश्वर्यको । नयनराज पाण्डेको घरबाट फर्केपछि दीपेन्द्र, वीरेन्द्र र ऐश्वर्य तनावमा थिए । विवाहका लागि गरिएका अनेक उपाय सफल नभएपछि दीपेन्द्रले नै हत्याकाण्ड गराएको दाबी छ, विश्वराज शाहको । घटनाको दिन ज्ञानेन्द्र शाह भने महेन्द्र प्रकृति संरक्षण कोषको बैठकमा भाग लिन भन्दै पोखरा गएका थिए । राति हेलिकोप्टर ल्याण्ड हुन नसकेको भन्दै ज्ञानेन्द्रलाई बिहानपख मात्र काठमाडौं ल्याइएको थियो ।

हत्याकाण्ड भएको त्रिभुवन सदन भत्काइसकेका छन् । युवराज दीपेन्द्र गोली लागी ढलेको पोखरी एकपटक पुरेर जीर्णोद्धार गरिएको छ । तर पनि भरपर्दो छानबिन भएमा दरबार हत्याकाण्डको सत्य अझै पनि उजागर हुन सक्छ । किनभने साक्षीहरु जिउँदै छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्