काठमाडौं, जेठ २५ । सरकारले आजबाट ६० देखि ६४ वर्षसम्मका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरेको छ। अघिल्लो साता मंगलवार र बुधवार गरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट प्राप्त १० लाख भेरोसेल खोप उक्त उमेर समूहका नागरिकलाई लगाउन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६० देखि ६४ र उपत्यकाबाहिर ६२ देखि ६४ गरी देशभर सो उमेर समूहका व्यक्तिलाई खोप लगाउन लागिएको हो। यसअघि गतवर्ष चीनले अनुदानमा दिएके आठ लाख डोज भेरोसेल खोप अत्यावश्यक क्षेत्रमा सेवारत कर्मचारी, चीनमा पढ्ने विद्यार्थी र चीनसँग कारोबार गर्ने व्यापारीलाई लगाइएको थियो ।
चीनले ६० वर्षमाथिका नागरिकमा पर्याप्त परीक्षण भइनसकेकाले सोमुनिका व्यक्तिलाई मात्र भेरोसेल खोप लगाउन भनेको थियो । सोहीअनुसार नयाँ आउने खोपका लागि पनि मन्त्रालयले त्यसअनुसार नै ६० वर्षमुनिका व्यक्तिलाई खोप लगाउने तयारी गरेको थियो । तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ६० वर्षमाथिकालाई पनि लगाउन अनुमति दिएकाले खोप लगाउन छुटेका उक्त समूहलाई प्राथमिकतामा राखेर यस चरणमा खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।