Logo

एमाले एकताको सम्भावना टर्यो, माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष



काठमाडौं, ७ असार । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज/भोलिभित्रै वार्ता हुने भनेर दोस्रो तहका नेताहरुले बताएपनि अहिलेसम्म त्यस्तो संकेत देखिएको छैन् । ओली पक्षले पार्टी एकताको लागि नेपाल पक्षधर सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भनेर सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त राखेको छ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नहुने अडान लिँदै आएको छ ।

आज विहानमात्रै ओली पक्षधर नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले तत्काल पार्टी एकता हुने संकेत नरहेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो? खिचडी पाक्ने त हो–होईन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन। अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ३अघिको बैठक बस्ने।त्यो नमान्ने भए भो छोडदिम, झुर्का खोज्ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम।’

बाँस्कोटाको पछिल्लो यो ट्विटले पनि तत्काल एकता नहुने बुझिएको छ । नेता नेपाल हिजोमात्रै विपक्षी गठबन्धनको बैठकमा सहभागी थिए । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलमा विपक्षी गठबन्धनलाई सशक्त बनाएर लैजानेबारे सहमति भएको थियो । नेता नेपालले आफू कुनैपनि हालतमा अदालतमा दिएको हस्ताक्षरबाट ब्याक नहुनेपनि नेताहरुलाई आश्वस्त पारेका थिए ।

माधव नेपालबाट लाभ लिनेहरुले नै साथ छाड्दै गए

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथिको सुनुवाईमाथि यही असार ९ गतेदेखि नियमित सुनुवाई हुँदैछ । सत्तारूढ नेकपा (एमाले) का नेताहरुले संसद् पूनःस्थापना दाबी गरिरहेका छन भने विपक्षी गठबन्धनका नेताहरुले पूनःस्थापना हुने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीले पनि संसद् पूनःस्थापना भएपनि आफू नै बहुमतमा रहिरहनेगरि तयारी थालेका छन् । उनले संसद्मा बहुमतमा रहनकै लागि जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई महत्वपूर्ण ११ मन्त्रालय दिएर सरकारमा सहभागी गराएका छन् ।

आफ्नै पार्टीका नेपाल पक्षधर नेताहरुसँग पनि नियमित छलफलमा छन् । सकेसम्म धेरै भन्दा धेरै सांसद आफूतिर तान्ने उनको रणनीति छ । पछिल्लो पटकको मन्त्रिपरिषद् विस्तारमा नेपाल पक्षधर गणेश पहाडीलाई मन्त्री बनाएर उनले नेपाल पक्षधर सांसदहरुलाई आफूतिर तानेको सन्देश दिएका छन् ।

नेपालनिकट नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यपनि प्रधानमन्त्री ओलीसँग लगातार छलफलमा छन् । नेता भट्टराईले एमालेको एकता कसैले पनि चाहेर रोक्न नसक्ने दाबी गरे । प्राइम टिभीको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका थिए,‘हामी एकता पक्षधर हौं । माधव नेपालपनि एकता, रुपान्तरण र संघर्षको पक्षमा हुनुहुन्छ ।’

माधव नेपाल ब्याक नहुने, असारभित्रै नयाँ दल खोल्ने तयारी

उनले आजको दिनमा सबै नेता पार्टी एकताको पक्षमा रहेको र त्यसको नतिजा एक/दुई दिनभित्रै आउने दाबी गरेका छन् । तर, नेता नेपाल भने अब कुनैपनि हालतमा ओलीसँग सम्झौता नगर्ने मुडमा पुगेका छन् । उनले आफूनिकट नेताहरुसँग ओली सच्चिने सम्भावना नरहेकोले अब सोहीअनुसार अघि बढ्नुपर्ने बताउन थालेका छन् । उता, ओली पक्षले पनि अब एकताको लागि धेरै समय नकुर्ने बताउन थालेको छ । भोलिसम्म एकताको लागि तयार नभए अब एकता हुन नसक्ने यो पक्षको भनाई छ ।

अहिलेपनि पार्टी एकता जोगाउनको लागि भन्दै एमालेका दोस्रो तहका नेताहरु छलफलमै छन् । तर, मुख्यगरि ओली पक्षबाट विष्णु पौडेल र नेपाल पक्षबाट घनश्याम भुषाल एकताको लागि छलफलमा जुटेको बताईएको छ । यी दुई नेताले आजसम्ममा नै एकताको लागि ठोस प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

ओली र नेपाललाई मिलाउन बामदेव भित्र भित्रै सक्रिय

प्रधानमन्त्री ओली पक्षधर नेताहरुले एमाले एकता पूर्ण रुपमा नभएपनि माधव नेपाल र भीम रावललगायत केही नेता बाहिरि गएपनि अरु नेताहरु एकतामा आउने दाबी गरेका छन् । हालै ओलीनिकट नेता कर्ण थापाले पनि माधव नेपाल र भीम रावलबाहेक अरु नेताहरुसँग एकता हुने दाबी गरेका थिए । अध्यक्ष ओलीले पनि अब माधव नेपालसँग सहमति हुने सम्भावना नरहेको निश्कर्ष निकालेको एमालेनिकट स्रोतको दाबी छ । माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष छ । त्यसैले एकताको लागि नेता नेपालसँग अब वार्ता नै नगर्ने ओलीको चाहना छ । बरु, नेपाल पक्षधर प्रभावशाली नेताहरुसँग भने उनले एक्लाएक्लै भेटवार्ता जारी राखेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्