१० असार : फिलिपिन्स वायुसेवा (पिएएफ) को एउटा सैनिक हेलिकप्टर बुधबार राति दुघैटनाग्रस्त भएको छ ।
सेनाका अनुसार उत्तरी मनिलामा भएको यस दुर्घटनामा एस–७०आई ब्लाक हक कलसाइनको हेलिकप्टरमा सवार सबै छ जनाको मृत्यु भएको छ । वायुसेनाले जारी गरेको विज्ञप्तिमा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको जनाइएको छ । तार्लाक प्रान्तको कापास शहरस्थित हवाई अखडाबाट तालिमका लागि राति १० बजेतिर उडेको केही क्षणभित्रै उक्त हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।
रक्षा सचिव डेल्फिन लोरेन्जानाले अर्को विज्ञप्ति जारी गरी दुर्घटनामा तीन पाइलट र अरु तीन जना सैनिकको ज्यान गएको बताएका छन् । सेनाले हेलिकप्टर सम्पर्क विहीन भएसँगै खोजी र उद्धार शुरु गरेको थियो ।–सिन्ह्वा/Photo: Agency