Logo

इतिहास : कालु पाण्डेको खान्कीदेखि जेठी तरबारसम्म



भुवनहरि सिग्देल : ठूलो खान्कीका कुरा गर्दा राजा पृथ्वीनारायण शाहका दायाँ हात मानिने कालु पाण्डे यो विषयका मिथकीय नायक हुन् । उनको समग्र खान्कीको त्यति धेरै उल्लेख इतिहासमा पनि पाइन्न । किंवदन्ती भने यस्ता छन्ः

कालु पाण्डेको शरीर भीमकाय थियो । उनी तोरीका दाना मुठीमा राखेर तरै तेल निचोरिदिन्थे रे । आरामले खान पाए भने एउटा सिङ्गै बोकाको मासु पोलेर खाइसक्थे । उनले टन्न खाइसकेपछि बायाँ हातले लोटामा भर गरेर उठ्दा लोटा नै कच्याककुचुक हुन्थ्यो रे । सङ्ग्रहालयमा यिनले प्रयोग गरेका हतियार सुरक्षित छन् । उनको खुकुरी र तरबार हेर्दा मलाई कहाली लागेको थियो । ती हतियार देखेपछि सुनिएका किंवदन्ती सत्य हुन् कि भन्ने लाग्छ ।

पृथ्वीनारायण शाहको इतिहास पढ्दा जेठी तरबारको प्रसङ्ग आउँछ । सङ्ग्रहालयमा राखिएका कालु पाण्डेको तरबार हेरेर म अनुमान लगाउँथे । वास्तवमा जेठी तरबार भनेको यही होला ।

धेरैपछि, २०६९ सालतिर एउटा कार्यक्रमको सिलसिलामा लमजुङ जाने अवसर मिल्यो । साथमा कलाधर काफ्ले, मुक्तिनाथ शर्मा, राजाराम सुवेदी गाडीमा थियौं । त्यहाँ इतिहासको गफ चल्यो । कसैले जेठी तरबारको कुरा पनि निकाले । म बुज्रुक बनें । आफ्नो अनुमानको जेठी तरबारको व्याख्या गरें । राजारामले हाँसेर भन्नुभो, “हैट, त्यो जेठी तरबार होइन नि ।”

सबै जनाको उत्सुकता त्यहाँ मिसियो । मैले पनि त्यसको यथार्थ जान्न चाहें । राजारामले असली इतिहास बताउनुभो । कीर्तिपुरसँगको लडाइँमा पृथ्वीनारायणको पहिलोपटक हार भयो । आफ्ना सेनापतिसँग राजाले त्यसरी हार हुनुको कारण सोधे । कालु पाण्डेले यो हारको कारण हामीसँग जेठी तरबार नहुनु हो भने । केही दिनपछि राजाले सेनापतिलाई भने, ‘तुरून्तै कीर्तिपुरमा चढाइ गर्नु !’

कालु पाण्डेले विनातयारी युद्ध नगरौं भने । राजा एकैचोटि जङ्गिए, ‘के कालु पाण्डे पनि युद्ध गर्न डराएको हो त ? के मेरो सेनापतिको शरीरमा रगत होइन, पानी बग्न लागेछ, ठानूँ ? के मेरो सेनानायक पनि डर छेरूवा भयो भनूँ ?’

कालु पाण्डेले एक्कासि म्यानबाट तरबार थुतेर सेनालाई आदेश दिए, ‘कालु पाण्डेको रगतमा पानी भरिएको छैन । तुरून्तै तुरून्तै कीर्तिपुर चढाइको लागि मार्च गर्नु ।’

आवेगमा कीर्तिपुरसँग दोस्रो लडाइँ भयो । दुर्भाग्य, त्यही लडाइँमा कालु पाण्डे मारिए । एक किसिमले राजाको दाहिने हात थिए उनी । भाइ कुलमण्डन शाहको आँखा फुटयो । राजालाई ठूलो आघात पर्यो ।
आफ्नै गलत आदेशले गर्दा वीर सेना नायकलाई गुमाउनुपरेको पीडामा राजा रन्थनिए । कालु पाण्डेले भनेका कुरालाई मनन गर्न थाले । जेठी तरबारविना कीर्तिपुर जितिन्न । के हो जेठी तरबार ? सोधिखोजी निकै गरे । कतैबाट खबर आयो, यो तरबार मकवानपुरका राजा मुकुन्द सेनसँग थियो ।

त्यो तरबार कसरी हात लगाउने ? उपाय सोच्न थाले । अब मुकुन्द सेनका छोरासँग मित नलगाई भएन । मितेरीको प्रस्ताव मकवानपुर दरबारमा पठाइयो । पृथ्वीनारायणका गतिविधि देखेर मकवानपुर भित्रभित्रै डराएको अवस्थामा मितेरीको प्रस्ताव आयो । दरबारले यसलाई हितकर ठान्यो । आपसमा मितेरी गाँसियो । मितसँग पृथ्वीनारायणले जेठी तरबार मागे । मितले आफ्ना बाबु मुकुन्द सेनसँग त्यो तरबार थियो भन्नेसम्म सनेका थिए । तर उनले पनि देखेका थिएनन् । मितले मागेको जाबो एउटा तरबार पनि कसरी नदिने ? उनी ठूलो धर्मसङ्कटमा परे । त्यो तरबार कसैले त बनाएको थियो होला । उनले सोधिखोजी गर्दा गाउँका एक जना बूढा कालिगढले बनाउन सक्छन् भन्ने खबर आयो ।

ती कालिगढ बूढालाई दरबारमा बोलाइयो । ती बूढाले भने, ‘मेरो उमेर सानै थियो । मेरा बाबाले जेठी तरबार बनाएको मैले देखेको हुँ । म बनाइदिन सक्छु होला ।’
समस्या समाधान हुने भयो भन्ने ठानेर ती बूढालाई तरबार बनाइदिनू भन्ने आदेश भयो । कालिगढ बूढाले भने, ‘महाराज ! जेठी तरबार बनाउने काम सजिलो छैन ।’
‘किन ? के छ अप्ठ्यारो ?

छयहत्तर धार्नी फलाम चाहिन्छ । त्यो फलाम गाल्ने, पिट्ने पच्चीस जना बलिया ज्यामी चाहिन्छन् । प्रशस्त कोइला आवश्यक हुन्छ । तिनले निरन्तर काम गर्दा चार महिनाजति समय लाग्छ सरकार ! ‘हुन्छ बनाउनू । त्यो सबै प्रबन्ध गरौंला ।’

कालिगढले हात जोरेर फेरि भने, ‘त्यति गरेर पनि जेठी तरबार बन्दैन सरकार !’
राजाले झर्केर भने, “कुरा खुलस्त भन् । के जालेमाले कुरा हो ?’

‘महाराज ! जेठी तरबारको भालेपोथी हुन्छ । अब पोथी तरबार बनाउन पनि ज्यामी, कोइला र पिट्ने गाल्ने आरन आवश्यक पर्छ ।’
‘हुन्छ लौ बना | समय कति लाग्छ ङ त्यो कुरा भन् ।’

‘६ महिनाको समय पाऊँ सरकार ।’

खोइरोमाथि ओइरो भए पनि तरबार बनाउने आदेश राजाले दिए । कालिगढको मागबमोजिम फलाम, कोइला, ज्यामी, घन र ठूलो आरनको व्यवस्था गरियो । कालिगढले काम सुरू गरे ।

चार महिना भएपछि ताकेता गरे । तोकिएको म्यादमा काम फत्ते गर्न कालिगढ र ज्यामी रातदिन खटेका थिए । छ महिना बितेपछि राजाले जानिस पठाए । कालिगढ धुवाँ, धूलो, अंगार र खरानीले रङ्गिएको थियो । त्यही हालतमा उसलाई दरबारमा दाखिल गराइयो । राजाले ऊसँग तरबार भएको कुनै लक्षण देखेनन् । रिसाइहाले, ‘खोइ तरबार ?’
‘यी सरकार ।’ उसले दाहिने मुठी खोलेर एउटा चम्किलो चक्कु राजाको अगाडि तेर्स्यायो ।

राजाको आवेग चुलीमा पुग्यो, ‘तँलाई फटाहा ठग ! मलाई ठग्न खोज्ने हैन त ? यी ला ।’ उसको हातको चक्कु टिपेर बाहिर बगैंचातिर फ्याँकिदिए । मुर्मुरिंदै आदेश गरे, ‘यसलाई ठिंगुरामा कोचिदे !’ दोहोरो कुरै गर्न नपाई कालिगढ ठिंगुरामा पर्यो । सात दिन बित्यो । बगैंचाको डिलमा नाम्ले फेद भएको साजको रूख थियो । त्यसका सबै पात खङ्ग्रङ्ग सुकेको राजाले देखे । उनको पहरेदारलाई सोधे, ‘हैन यो रुख यस्तो थिएन । किन यसरी एक्कासि सुक्यो ? जा हेर् !’
एक छिनपछि पहरेदारले कालिगढको हातबाट टिपेर फ्याँकेको त्यही चक्कु लिएर आयो र भन्यो, ‘सरकार ! साजको रुखमा
यही चक्कु गाडिएको रहेछ । अरु केही भएको छैन ।’ राजा झस्के, ‘हँ । ए जा, त्यो कालिगढलाई ठिंगुराबाट फुकाएर
यहाँ ले ।’

ठिंगुरामा अररिएको कालिगढ ढाड बङ्ग्याउँदै राजाको अगाडि आयो । राजाले सोधे, ‘ओई, जेठी तरबार भनेको खोइ त ?’
‘त्यही त हो जेठी तरबार । सरकारले मेरो हातबाट टिपेर फालिदिनुभो । मलाई बोल्नै दिनुभएन ।’

‘अनि भालेपोथी चाहिन्छ भन्थिस् त । खोइ नि ?’
‘यी महाराज | मेरो बायाँ मुठीमै छ पोथी तरबार । यो मुठी खोल्ने मौकै पाइनँ ।’

त्यसपछि राजाले आदेश गरे, ‘ल यो कालिगढको सबै हरहिसाब गरेर दिनू । यसका लागि पाँच सय थप बक्सिससमेत दिनू ।’
यसरी जेठी तरबार हात पारेका पृथ्वीनारायण शाहले कीर्तिपुरलाई हराए । त्यही तरबारका बलले आफ्नै मितलाई मकवानपुरबाट लखेटेर चौदण्डीपारि पुयाइदिए । आखिर राजनीतिमा भन्दा बढी धोका अन्यत्र कतै हुन्न होला ।

यो राजाराम सुवेदीले बताएको जेठी तरबारको इतिहास हो । राजाराम सुवेदी इतिहासविद् हुन् । त्यो वेला उनी त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्थे । अहिलेसम्म उनीसँग मेरो सम्पर्क भइरहन्छ । कालु पाण्डेको खान्कीलाई लिएर उठेको कुरो जेठी तरबारमा पुगेर सकियो ।



प्रतिक्रिया दिनुहोस्