काठमाडौं, २५ साउन । लुम्बिनी प्रदेशको सांसदबाट पदमुक्त गरिएका ३ मन्त्रीको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन । आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले जनता समाजवादी पार्टीले सिफारिश गरी सांसदबाट पदमुक्त भएका ३ मन्त्रीको रिटमा अन्तरिम आदेश नदिएको हो ।
विजयबहादुर यादवसमेतको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले आज अन्तरिम आदेश नदिई ८ भदौका लागि यस सम्बन्धमा छलपलका लागि बोलाएको छ । अदातलले दुवै पक्षसँग छलफल गरी टुंगो लगाउन उपयुक्त देखिएको भनेको छ ।
जसपाबाट कारबाहीमा परी सांसदबाट पदमुक्त भएका विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेले प्रदेश सभाको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट निवेदन दर्ता गरेका थिए । उनीहरु जसपाको आधिकारिक उपेन्द्र यादव पक्षको निर्णयविरुद्ध शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका थिए ।