काठमाडौं, साउन २७ । मेस्सीले बार्सिलोना छाडेसँगै घरेलु मैदान क्याम्पनोउमा रहेको उनको पोष्टर च्यातिएको छ । ३४ वर्षीय मेस्सीलाई बार्सिलोनाले लालिगाको आर्थिक नियमको आधारमा सम्झौता गर्न नसक्ने बताएपछि बार्सिलोनामा मेस्सी युगको अन्त्य भएको छ।
मेस्सीले उक्त क्लबका निम्ति १० पटक स्पेनी लिग उपाधि तथा चारपटक युरोपेली च्याम्पियन्सको उपाधी जिताएका छन्। उनले बार्सिलोनाका लागि अहिलेसम्मकै सर्वाधिक ६ सय ७२ गोल गरेका थिए। जुलाई १ तारिखदेखि नै मेस्सीको बार्सिलोनासँगको सम्झौता अवधि सकिएपछि उनले भावुक हुँदै बार्सिलोना छाडिसकेका छन् ।
एक वर्ष अगाडि मेस्सीले बार्सिलोना क्लबका मालिकहरूलाई फ्याक्समार्फत् आफू हट्न चाहेको जानकारी गराएका थिए ।
मेस्सी १३ वर्षको उमेरमा सन् २००० मा बार्सिलोना क्लबको चर्चित ला मासिया एकेडेमीमा सामेल भएका थिए। बार्सिलोना छाडेर छोरा र पत्नीसहित पेरीस पुगेका मेस्सीले पीएसजीसँग दुई वर्षे सम्झौतासमेत गरिसकेका छन् ।
उनले प्रत्येक वर्ष ३५ मिलियन युरो बराबरको पारिश्रमिक पाउने अन्तर्राष्ट्रिय सञ्चार माध्ययमहरुले उल्लेख गरेका छन् ।