काठमाडौं, साउन ३२ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी विभाजनको विपक्षमा रहेको स्पष्ट पारेका छन् । नेता रावलले आफू विभाजनभन्दा १० बुँदेको पक्षमा उभिने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तरवार्ता दिँदै उनले भने, ‘म १० बुँदेको हस्ताक्षरकर्ता हुँ । यसलाई केपी ओली र माधवकुमार नेपाल दुवै नेताले स्वीकार्नुपर्छ । म एकताको पक्षमा उभिएको छु । म एमालेको उपाध्यक्ष हुँ । ओलीलाई नवौं महाधिवेशनले चुनेको नेता मानेको छु । १४, १५ वर्षसम्म पार्टीको नेतृत्व गरेका माधव नेपाल एमालेको सिर्जनाकार हो । आफ्नै सिर्जना कसैले भत्काउन सक्छ ?’
उनले पार्टी बलियो नभएसम्म लोकतन्त्र बलियो हुन नसक्ने जिकिर गरे । उनले भने, ‘पार्टी कमजोर बनाउने काममा कसैले लाग्नुहुन्न । एमाले टुक्राउने कामले अन्ततः सबैलाई हानि गर्छ । भोलिको पुस्ताका लागि र देशका लागि एमालेलाई सुरक्षित राख्नु आवश्यक छ ।’
उनले एकताका लागि कुराकानी जारी भए पनि परिणाम नआएको बताए । उनले भने, ‘अहिले नेकपा एमाले नै छ । पार्टी विभाजन भएको छैन । अन्तरविरोध र मतभेद समाधान होस् भनेर नेताहरुकै समर्थन र स्वीकृतिमा कार्यदल बनेर १० बुँदे सहमति भएको हो । यतिबेला पार्टी विभाजनको सैद्धान्तिक र नीतिगत आधार छैन । राष्ट्रलाई एकता आवश्यक भएको बेला पार्टी विभाजन घातक हुन्छ । कुराकानी जारी छ, परिणाम आएको छैन । तर वार्ता नहुनुपर्ने, कुरा नहुनुपर्ने कुनै कारण देखिँदैन ।’
उनले ११ जना स्थायी समिति सदस्य रहेर गरेको १० बुँदे सहमतिमा कुन बुँदाले कसलाई अहित गर्छ भन्ने प्रश्न गरे । उनले थपे, ‘यसबारे नेताहरुले सोच्नु भएन भने देश, जनता र पार्टीलाई संकट पार्छ । २०५४ मा पार्टी विभाजन भयो, विभाजित भएर जाने नेताहरु चार वर्षपछि फेरि एक हुनुपर्यो ।’ सिद्धान्त, वर्गीय दृष्टिकोण नमिल्नेसँग गठबन्धन बनाउनु आवेग, उत्तजेना, व्यक्तिगत तिक्ततापूर्ण मतभेद भएको उनको दाबी छ ।
नेता रावलले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि हवाई उद्धारमा लाग्नुपर्ने भएकाले आफ्ना नागरिकप्रति संवेदनशील हुन आग्रह गरिसकेको बताए । उनले थपे, ‘अफगानिस्तानमा तालिबान अहिले आएको होइन, यो कुरा पहिले नै थाहा भइसकेको थियो । तर हामी भागबन्डा र बाँडीचुँडी खानुलाई नै राजनीति सम्झेर बस्यौं । अब दिल्ली र पाकिस्तानी दूतावासमार्फत पहल गर्नुपर्छ । नेपाल ल्याउन सकिँदैन भने नजिकको देशमा लगेर राखे पनि हुन्छ ।’