Logo

‘कायर गनी’



एजेन्सी, ३२ साउन । अफगानिस्तानका राष्ट्रपति असरफ गनी देश छाडी भागेपछि उनलाई कायर र अप्ठ्यारोमा देशलाई पारेर गएको आरोप लागेको छ । राष्ट्रपति चुनावमा उनका प्रमुख प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले कायर भनेका छन् ।

अब्दुल्लाले भनेका छन्, अफगानिस्तानका पूर्वराष्ट्रपतिले अफगानिस्तानलाई छाडेका छन् । उनले देशलाई यस्तो अवस्थामा छाडेका छन् जुन अल्लाले लेखाजोखा राख्नेछन् ।

गनीले जनतालाई ढाँट्दै आएको भन्दै राजनीतिज्ञहरुले आलोचना गरेका छन् । उनले अफगानी जनतालाई अन्धकारमा राख्दै आएको अरोप लगाएका छन् । शनिबार मात्र टेपरेकर्ड गरिएको अभिव्यक्तिमा उनले अफगानिस्तानलाई तालिवानबाट जोगाउन लड्ने बताएका थिए । तर, आइतबार उनी भागेर ताजिकिस्तान पुगे ।

बाल्क प्रान्तका प्रभावशाली पूर्वकमाण्डर अट्टा मोहम्मद नुरले गनी नेतृत्वको सरकारलाई ठूलो संगठति र कायर षड्यन्त्रकारी भनेका छन् । उनलाई अराष्ट्रवादी र कायम भन्दै आलोचना भइरहेको छ ।
गनीले सन् २०१४ र २०१९ मा चुनाव जित्दा विवाद भएको थियो । उनका प्रतिद्वन्द्वी अब्दुल्लाले सन् २०१९ मा चुनाव जितेको दाबी गरेका थिए । तर, गनीलाई नै विजयी घोषणा गरियो । त्यतिबेला अब्दुल्लाले राष्ट्रिय मेलमिलाप परिषद्को प्रमुख बनाएर शक्ति बाँडफाँड गरिएको थियो ।

गनीले अफगानिस्तान छाड्दा अफगानिस्तानी जनताले पूर्व राष्ट्रपति डा. मोहम्मद नाजिबुल्लालाई सम्झिएका छन् । सन् १९९६ मा तालिवान काबुल छिर्न लाग्दा संयुक्तराष्ट्रसंघको कार्यालयभित्र शरण लिएर बसेका उनी भाग्न तयार भएनन् । तत्कालीन रक्षामन्त्री महमुद शाह मसुदले नाजिबुल्लालाई देश छाड्ने अवसर सृजना गरिदिए । तर, उनी छाड्न तयार भएनन् । आफ्नो पस्तुन्स समुदायको नजरमा कायर भनिने र सधैका लागि नराम्रो धब्बा लाग्न सक्ने भएकाले उनी काबुलमै बसे ।

काबुलमा तालिवान पसेपछि उनी र भाई साहपुर नाजिबुल्लालाई संयुक्तराष्ट्रसंघको कार्यालयबाट घिसारेर हत्या गरे । शवलाई दुई दिनसम्म काबुलको चोकको ट्राफिक लाइटको पोलमा झुण्ड्याए ।
नाजिबुल्लालाई जस्तै क्रुरतापूर्वक हत्या गर्न सक्ने भएर गनी भागेको चर्चा अफगानिस्तानमा छ । तर, गनीले अफगानिस्तानलाई अध्यारोमा पारिरहेको र झन् अन्धकारमा धकेल्नेहरुसँग नजुधी भागेको विश्लेषण भइरहेको छ ।

अफगानी जनताको नजरमा गनी कायर ठहरिएका छन् । उनीहरुले २५ वर्ष अघिका नाजिबुल्लालाई सम्झेर उनलाई साहसी देखेका छन् । जो तालिवानबाट बच्नका लागि भागेनन् ।



प्रतिक्रिया दिनुहोस्