काठमाडौं, भदौ ६ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले अब विस्तार हुने मन्त्रिपरिषद्मा गठबन्धन दलको बराबरी हैसियतमा प्रतिनिधित्व हुने बताएका छन् । गठबन्धनका पाँच दलमध्ये राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी नहुने र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र माधव नेपालको पार्टीबीच ६–६ मन्त्रालयको भागबन्डा हुने मोटामोटी सहमति भएको उनको दाबी छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पौडेलले भने, “निर्वाचन आयोगले माधवकुमार नेपालको पार्टीको सनाखत गरेपछि अर्थात् भदौ ९ गतेपछि मात्र पाँचै दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुन्छ ।
अहिले फरक परिस्थितिमा सरकार बनेकाले सदनको प्रतिनिधित्वभन्दा पनि सम्मानजनक प्रतिनिधित्वको कुरा उठेको छ । संविधानअनुसार २५ भन्दा बढी मन्त्री बनाउन पाइँदैन । मन्त्रालय २१ वटा मात्र छन्, चार जनालाई राज्यमन्त्री बनाउनुपर्छ । त्यसैले बराबरी हैसियतमा ६–६ मन्त्रीको प्रतिनिधित्व गर्ने अनौपचारिक कुराकानी भएको छ । अब यस सरकारको आयु डेढ वर्ष मात्र छ । सरकारको आयु छोटो छ, चुनौती बढी छ । अब मिलेर जाँदा नै संविधान र प्रणालीको रक्षा हुन्छ । यसरी नै प्रदेशको सरकार पनि चलाउनुपर्ने हुछ ।”
पौडेलले गठबन्धन दलका साथीहरुले उपप्रधानमन्त्रीको चाहना राखे पनि राज्यले व्ययभार हुने गरी निर्णय गर्न नहुने बताए । मन्त्री बन्नलाई प्रचण्डको घरमा धाइरहनुभएको छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “पक्कै पनि म मन्त्रीको दाबेदार हुँ तर चाकडी गरेको साँचो होइन । प्रचण्डको घरमा म कामविशेषले गइरहन्छु । तर त्यसलाई चाकडी भन्न मिल्दैन ।” उनले जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने बारे कुरा नभएको पनि बताए । उनले भने, “उहाँहरुले सरकारलाई विश्वासको मत दिनुभएको हो । तर सरकारमा जान के गर्नुहुन्छ, यसै भन्न सकिँदैन ।”
वामपन्थी दलहरुबीच ध्रुवीकरण बढेको र प्रचण्डको नेतृत्वमा वामपन्थी र प्रगतिशील दलको एकता हुने उनले बताए । उनले भने, “अब नयाँ प्रकारको ध्रुवीकरण हुन्छ । तर आजको आजै एकता हन्छ भन्न सकिँदैन । टुटफुट र विभाजन जनताको चाहना होइन, गलत सोच र इगोका कारण भइरहेको छ ।” जे भए पनि अब प्रचण्डको नेतृत्वमा वामपन्थी र प्रगतिशील एक हुनुपर्छ भन्ने मेरो धारणा छ ।