Logo

ओलीको अभिमान र देउवाको अक्षमतालाई हराउनैपर्छः डा. दीक्षित



काठमाडौं, भदौ ८ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा एमालेका अध्यक्ष केपी ओलीको व्यर्थ अभिमान र प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको चरम अक्षमतालाई हराउनुपर्ने बताएका छन् । दुवै नेताले अब पार्टीको भूमिकाबाट किनारा लाग्नु उपयुक्त हुने उनको सुझाव छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, ओलीले दुई-दुईचोटि संसद् विघटन गरेको र पार्टी फुटाउने अध्यादेश ल्याएको भनेर हामीले विरोध गर्यौं । लोकतन्त्रको खम्बा संसद्लाई बिना बिजिनेस स्थगन गरेर फेरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु प्रधानमन्त्री शेरबहादुर देउवाले बिलकुलै गलत कदम हो । गन्धे राजनीति खेले देउवाले । एमाले फुटाएर कांग्रेसका लागि राम्रो भयो होला, तर एउटा मामूली समूहलाई मन्त्रीमण्डलमा ल्याउन त्यस्तो महान् पार्टीका नेताले घटिया राजनीति गर्न सुहाउँछ ? यो ज्यादै स्वार्थी काम भयो ।”

प्रधानमन्त्री देउवाले ४२ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु चरम अक्षमता भएको उनको टिप्पणी छ । उनले भने, “यस्तो पाराले कांग्रेसलाई हानि गर्छ । मन्त्रिपरिषद् विस्तार गर्न सकेनन् । बरु दल फुटाउने घटिया राजनीतिमा ओर्लिए । उनलाई सरकार नरहने डर थियो भने विश्वासको मत लिनुहुँदैनथ्यो, प्रधानमन्त्री खानुहुन्नथ्यो । पाँच पटक प्रधानमन्त्री हुने भाग्यमानी भन्दैमा सफल भइन्छ र ? उनलाई फाइदा भए पनि मुलुकलाई केही फाइदा भएन । उनले प्रधानमनत्री भएपछि पार्टी सभापति छा्ड्नुपर्थ्र्यो । उनी आफैंले पद छाडेनन् भने उनलाई हराउनै पर्छ । अब ओलीको अभिमानले पनि हार्नैपर्छ । उनले पनि आफैं छाडेको राम्रो ।”

दीक्षितले माधव नेपाललाई धोका दिएका मध्यमार्गीहरुलाई ओलीले नछाड्ने दाबी गरे । उनले भने, “माधव नेपाल अहिले चन्द्रागिरि पहाडमा बसेका छन् । ओलीले जहिल्यै जालैजाल बिच्छ्याउँछन् भन्ने उनलाई थाहा छ । सोकल्ड मध्यमार्गी नेताहरुले माधव नेपाललाई धोका दिए, ओलीको डिक्टेटरसिपसँग लम्पसार परेर गए । अब सोकल्ड मध्यमार्गीहरुलाई ओलीले छाड्नेवाला छैनन् ।”

उनले अब माधव नेपाल एमालेमा नफर्कने ठोकुवा गरे । उनल थपे, “ऋषिजी तपाईंले प्राइम टेलिभिजनमा लिएको वामदेव गौतमको अन्तर्वार्तामा धेरै कुरा आएको छ । अब माधव नेपाल फर्कने चान्सै छैन । तर उनले सोझो बाटोबाट पार्टी गठन गर्नुपर्थ्र्यो । ओलीले निकालेपछि नयाँ पार्टी बनाएर चुनावबाट आउनुपर्थ्र्यो । संसद् स्थगन गरी २० प्रतिशतले पार्टी फुटाउने अध्यादेशको चोरबाटोबाट पार्टी गठन गर्नुहुँदैनथ्यो ।” अब माधव नेपालको भूमिका खत्तम नभए पनि प्रभाव धेरै कम हुने दीक्षितको विश्लेषण छ ।

अगुवा डा. दीक्षितले केपी ओलीको पालामा भारतलाई दुस्मन बनाएर चीनतिर लम्पसार परेको औंल्याउँदै नेपाल–भारत सम्बन्ध सुधार गर्नुपर्ने पनि बताए । उनले भने, “अहिले देउवाको गठबन्धन सरकार छ ।  त्यसैले भारत छिमेकीसँगको सम्बन्ध नराम्रो बनाउनुहुँदैन भनेर लागेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको भ्रमण त्यसकै एक कडी हो । हुन त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आँखा पहिले पनि खराब थिएन । यहीँका मानिसले त्यस्तो धारणा बनाएका हुन् । उनले नेपाललाई धर्मभूमि मानेका छन् । जनकपुर, मुक्तिनाथ लुम्बिनी, पशुपति धर्मक्षेत्र हो उनका लागि । नाकाबन्दीमा हामीले दुःख पायौं । तर त्यो मधेसी नेताले गरेको हो । नाकाबन्दीकै विषयलाई लिएर भारतलाई दुस्मन ठानिरहनु हुन्न ।”



प्रतिक्रिया दिनुहोस्