Logo

म केन्द्रीय सदस्यको प्रत्यासी हुँः खड्का



काठमाडौं, भदौ १४ । नेपाली कांग्रेसका नेता दीपक खड्काले आफू पार्टीको चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासी भएको बताएका छन् । पार्टीमा सकेसम्म सर्वसम्मत पदाधिकारी चयन गर्नुपर्ने भए पनि लोकतान्त्रिक अधिकार कुण्ठित हुन दिनु नहुने उनको तर्क छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले भने, “सभापतिमा एक जनामात्र उम्मेदवार हुनुपर्छ भन्ने आदर्श सोचाइ हो । तर खुला प्रतिस्पर्धा र लोकतान्त्रिक अधिकार कुण्ठित हुन दिनु हुँदैन । मैले यसपालि आफूलाई केन्द्रीय सदस्यमा प्रस्तुत गर्ने सोचेको छु । घोषणा गरिसकेको छैन ।”
धेरै नेताले सभापतिमा दाबेदारी गरेको स्थितिमा तपाईं कुन कित्तामा उभिनुहुन्छ भन्ने प्रश्नमा नेता खड्काले म पार्टी चलाउन योग्य छु भनेर धेरै जना प्रस्तुत हुनु राम्रो भएको पनि बताए । उनले थपे, “उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको सुनेको छु । वरिष्ठ नेता रामचन्द्र पौडेल पहिले पनि उम्मेदवार हुनुभएको हो । उहाँले उम्मेदवारी नदिने प्रश्नै छैन । तर म कुन नेताको पक्षमा लाग्ने भन्ने बोल्ने बेला भएको छैन । मेरो ब्रह्मले के देख्छु, आफूलाई उपयुक्त लागेको दक्ष नेताको पक्षमा उभिन्छु । यो अन्तिममै थाहा हुने कुरा हो ।”
मन्त्रिपरिषद् विस्तार ढिलो भए पनि गठबन्धनका दलहरुको सहमति चाहिने सबैले बुझेको पनि उनले बताए । उनले भने, “गठबन्धनमा आन्तरिक समस्या होलान् । त्यो आफ्नो ठाउँमा छ । जो बनाए पनि पार्टीकै मानिस बन्ने हुन्, सांसद नै बन्ने हुन् । मर्यादित मानिस नै मन्त्री हुने हुन् । मन्त्री चिट्ठा तानेर बनाउने होइन । जनताप्रति जिम्मेवार हुने हो भने जो मन्त्री भए पनि समस्या हुन्न । सबै सांसदलाई मन्त्री बन्ने अधिकार छ ।”

उनले दल विभाजनसम्बन्धी अध्यादेश संवैधानिक व्यवस्था नै भएको र दलभित्रकै नेताहरुलाई आवश्यक भएर आएकाले यसलाई अन्यथा सोच्न नहुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्