Logo

कांग्रेसमा देउवा कमजोर भइसकेका छन्, डडेल्धुरामा पुलिस प्रशासन लगाएर वडा अधिवेशन गराएः डा. शेखर कोइराला



काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै गृहजिल्ला डडेल्धुरामा अल्पमतमा परिसकेको दाबी गरेका छन् । प्रहरी प्रशासन लगाएर जबर्जस्ती वडा अधिवेशन गराउनुले देउवा कति कमजोर रहेका छन् भन्ने स्पष्ट भइसकेको उनले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. कोइरालाले भने, “नेपाली कांग्रेसको नेतृत्व असफल भइसकेको प्रमाण नै डडेल्धुराको वडा अधिवेशन भयो । पुलिस प्रशासन लगाएर अधिवेशन गराउने जस्तो घृणित काम देउवाले गर्नुभएको छ । यो त राजा ज्ञानेन्द्रले नगरपालिकाको चुनाव गराएजस्तै भयो ।”
अब पार्टीमा देउवाको निरंकुशता धेरै दिन नटिक्ने उनले बताए । उनले भने, “हामीले विगतमा राजाको निरंकुशताविरुद्ध लड्यौं, केपी ओलीको निरंकुशताविरुद्ध पनि लड्यौं, शेरबहादुर देउवाको निरंकुशताविरुद्ध पनि लडिरहेका छौं । हिजो राजासँग शक्ति थिएन ? ओलीसँग शक्ति थिएन ? नेपालमा कुनै पनि निरंकुशता टिक्दैन । देउवाको निरंशुकता पनि हामीलाई स्वीकार्य हुँदैन । लोकतन्त्रका लागि गम्भीर आपत्तिको विषय हो । सभापतिले बुझिसक्नुभएको छ, उहाँ आफ्नै जिल्लामा अल्पमतमा पर्नुभएको छ ।”
डा. कोइरालाले केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेव यादव सभापति देउवाका पिछलग्गु भएको आरोप लगाए । उनले थपे, “गाउँ, क्षेत्र, जिल्ला हुँदै केन्द्रमा पुगेको क्रियाशील सदस्यताको नामावली सभापतिको निर्देशनमा नाम काटिन्छ, थपिन्छ भने सभापति, छानबिन समिति, उच्चस्तरीय छानबिन समिति सबै दोषी हुन् । डडेल्धुरा जिल्ला समितिले तीनचार दिन रोक्नुस्, छलफल गरौं भन्दा पनि महादेव यादवले मान्नुभएन । यो बदमासी हो । उहाँ सभापतिको पिछलग्गु बन्नुभएको छ ।”
उनले चौधौं महाधिवेशनमा देउवाइतर समूहबाट एक जना मात्र उम्मेदवार हुने दोहोर्याए । उनले भने, “हामीले पत्रकार सम्मेलन गरेर भनिसकेका छौं, हामी एक जना मात्र उठ्छौं । को उठ्ने भन्ने कुरा महाधिवेशन प्रतिनिधिमा भर पर्छ । उनीहरुले कसलाई रुचाउँछन्, त्यसमा भर पर्छ ।” उनले अब अनुभवी र पुरानाको मात्र कुरा गरेर नहुने पनि बताए ।
नेता डा. कोइरालाले प्रधानमन्त्रीका रुपमा देउवाका कदमले कांग्रेसका आधारभूत मान्यता खण्डित भएको पनि बताए । उनले भने, “अहिले पार्टी सभापति नै प्रधानमन्त्री हुनुहुन्छ । यो सरकार सफल भएन भने कांग्रेस पनि सफल हुन्न भन्ने हामीलाई थाहा छ । तर हठात् संसद् बन्द गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । ओलीले त्यही अध्यादेश ल्याउँदा हामीले विरोध गरेको थियौं, अहिले उहाँले त्यही काम गर्र्नुभयो । ओलीले गर्दा बेठीक हुने, हामीले गर्दा कसरी ठीक हुन्छ ? हामी अभिव्यक्ति स्वतन्त्रताका लागि लडेका थियौं । गृहमन्त्रालयबाट लगातार आएका दुई वटा वक्तव्य  अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छन् । लोकतन्त्रका आधारभूत कुरालाई हामीले पनि समाप्त गर्न खोज्यौ भने के होला ? कम्युनिस्टको घानमा हामी परिसकेका छौं ।”
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई नस्वीकारेको देखिएको पनि बताए । उनले भने, “उहाँ सभामुख हो, अहिले पार्टीमा हुनुहुन्न । भोलि पार्टीमै जानु होला । तर उहाँलाई हामीले निर्देशन दिन मिल्दैन । १४ जना सांसदलाई किन नहटाएको भन्नेबारे उहाँले जवाफ दिनुपर्छ । सत्तापक्ष र प्रतिपक्षलाई समेटेर लैजाने काम सभामुखको हो ।”
डा. कोइरालाले देउवा सरकारले संसद् चलाउने अवस्था नदेखेको पनि बताए । उनले भने, “राजनीतिमा पेलेर जाने कुरा गलत हो । संसदीय प्रणालीमै आँच आउने गतिविधि भइरहेका छन् । यो मुलुकका लागि दुर्भाग्य हो । दलहरुबीच छलफल गरेर अघि बढ्नुपर्छ ।”
प्रतिस्थापन बजेट लोकरिझ्याइँका लागि आएको देखिएको उनको टिप्पणी छ । उनले थपे, “अध्यादेशबाट आएको बजेटलाई हंगामाबीच प्रतिस्थापन गरिएको छ । बिना स्रोत बिना बजेटका १४ सय सडक योजना हटाउने, दीर्घरोगीलाई सहुलियत दिने कुरा सकारात्मक हो । तर यो बजेट वितरणमुखी छ । आर्थिक अवस्था ठीक पार्ने कुरामा हामी जाँदैनौं, सानातिना कुरा दिएर लोकरिझ्याइँतिर लाग्छौं । यसरी विकास हुँदैन ।”

नेताहरुको अपरिपक्वता र असन्तुलित दृष्टिकोणका कारण मित्रराष्ट्र भारत, चीन, अमेरिकासँग विश्वासको वातावरण समाप्त भएको पनि उनले बताए । उनले भने, “एमसीसी यति गिजोलिसकियो कि संसद्बाट पास गर्न सक्ने देखिँदैन । सत्ता गठबन्धनमा मेल छैन । एमालेमा पनि ओलीले अर्कै कुरा गर्न थाल्नुभएको छ । यो देशका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको व्यवहार देखेर विचित्र लाग्छ । सरकारमा हुँदा सही गर्छन्, विपक्षमा हुँदा विरोध गर्छन् । भारतसँग विभिन्न कुरा गरेर विश्वासको वातावरण बन्न सकेको छैन । चीनसँग विवाद बढाइएको छ । यतिबेला यस्तो गर्नु जरुरी थियो कि थिएन ? पटक्कै विवेक पुर्याइएको छैन ।”



प्रतिक्रिया दिनुहोस्