Logo

महाधिवेशन र निर्वाचनमा ओलीकै नेतृत्वमा जाने हो, उहाँको कसैसँग प्रतिस्पर्धा हुन्न: शेरबहादुर तामाङ



काठमाडौं, असोज ११ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीभित्र केपी शर्मा ओलीको कसैसँग प्रतिस्पर्धा नहुने बताएका छन् । आगामी महाधिवेशन र निर्वाचनमा ओलीकै नेतृत्वमा जाने उनको भनाइ छ ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “नेकपा एमालेको विघटन या विभाजनका लागि चौतर्फी घेराबन्दीका बाबजुद आज पार्टी केपी शर्मा ओलीको नेतृत्वमा अगाडि बढिरहेको छ । हामी आगामी महाधिवेशन र निर्वाचनमा उहाँकै नेतृत्वमा जाने हो । त्यसबाट नै हामी सबै नेता कार्यकर्ता सुरक्षित हुन्छौं । अब उहाँको कसैसँग प्रतिस्पर्धा हुँदैन ।”

७० वर्षको उमेर हदका कारण पार्टीका वरिष्ठ नेताहरुले नेतृत्व गर्न नपाउने भए नि त भन्ने प्रश्नमा उनले भने, “पाँच वर्षपछिको महाधिवेशनको चिन्ता गरेर अहिले किन टाउको दुखाउने ? पार्टीलाई आवश्यक नेतृत्व विकास भइहाल्छ नि ।” उनले व्यक्तिको व्यवस्थापन गर्न धेरै पद सिर्जना गर्नु नहुने पनि बताए । उनले थपे, “व्यक्तिलाई हेरेर जति पनि पद सिर्जना गर्न नसकिने होइन । तर हामीले तीन उपाध्यक्षको प्रस्ताव गरेका छौं । धेरै पद सिर्जना गरेर मात्र पार्टी चल्दैन । नेता व्यवस्थापन गर्न धेरै पद सिर्जना गर्नुहुँदैन । हरेक नेताले आफ्नो योग्यता र क्षमताका आधारमा उपलब्ध पदमै प्रतिस्पर्धा गर्ने हो ।” पदमा नहुनासाथ पेलिएको भन्ठान्नु गलत हुने नेता तामाङले बताए ।

तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा पार्टीमा छलफलै नगरी दुईदुई पटक संसद् विघटन गरेकाले केपी शर्मामाथि कारबाही गर्नुपर्छ भन्ने प्रश्न कसैले पनि नउठाएको उनले दाबी गरे । उनले भने, “संसद् विघटनको विषयमा केही साथीहरुका फरक मत अवश्य छन् । तर त्यो शब्द कुनै पनि सदस्यले प्रयोग गरेका छैनन् । सबै नेता नेकपा एमालेका हुनुहुन्थ्यो, एमालेकै नेताहरु हुनुहुन्छ । उहाँहरु अर्को पार्टीबाट आउनुभएको पनि होइन । संसद् विघटनका सवालमा उहाँहरुको दृष्टिकोण पार्टीको सम्पत्ति हो । एमाले रक्षाका लागि उहाँहरुको मतभिन्नताको पनि सम्मान गर्नुपर्छ ।”

उनले कुनै पनि विषयमा मत भिन्नताका आधारमा पार्टीमा कोही कसैलाई जिम्मेवारीबाट अलग नगरिने र योग्यता र क्षमता अनुसार काम दिइने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्