Logo

“एमालेको विधान महाधिवेशनमा ओलीको वाहवाही नभएर प्रचण्डको हुन्छ त ?”



काठमाडौं, असोज १६ । नेकपा एमालेका नेता विष्णु रिजालले केपी ओली राष्ट्रिय राजनीतिको मियो भएकाले पार्टीमा उनको नेतृत्व अपरिहार्य भएको बताएका छन् । जारी विधान महाधिवेशनमा ओलीको चर्चा, परिचर्चा र वाहवाही स्वाभाविक भएको दाबी उनले गरे ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “अहिले राष्ट्रिय राजनीतिमा सबै दल एकातिर छन्, एमाले एक्लै अर्कोतिर उभिएको छ । एमालेको नेतृत्व केपी शर्मा ओलीले गर्नुभएको छ । त्यसैले ओलीको नेतृत्वको विकल्प कसैले पनि सोचेको छैन । ओलीको नेतृत्व अपरिहार्य छ । पार्टी एकीकृत या सहज अवस्थामा भएको भए पर्याप्त विकल्प थिए । छनोटको विकल्प पनि आउँथ्यो । अहिलेको अवस्थामा अरु नेतालाई मान्ने कुरा छैन । उहाँलाई चुनौती दिनु भनेको एमालेलाई कमजोर बनाउनु र एकतालाई तितरबितर बनाउनु हो ।”

रिजालले नेकपा एमालेको विधान महाधिवेशनमा ओलीको वाहवाही स्वाभाविक भएको बताए । उनले थपे, “नेकपा एमालेको विधान महाधिवेशन देउवामय प्रचण्डमय, मोहनविक्रममय, सीपी मैनालीमय हुन्न । केपी ओलीकै चर्चा हुन्छ, त्यो स्वभाविक हो । किनभने ओली अहिले राष्ट्रिय राजनीतिको मियो हो ।”

पार्टीलाई बलियो बनाउने कि नेतालाई बलियो बनाउने भन्ने प्रश्नमा उनले भने, “हामी एमालेलाई बलियो बनाउन चाहन्छौं । अहिले पार्टीमा देखिएको संकटलाई ओलीको नेतृत्वमा नै त्यसलाई पार लगाउनुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले आगामी महाधिवेशनमा अध्यक्ष र चुनावपछि प्रधानमन्त्री बनाउने औपचारिक निर्णय त गरेका छैनौं । तर आगामी दिनमा उहाँको विकल्प सोच्न पनि सकिन्न ।”

नेता रिजालले एमाले कुनै पनि छिमेकीको पक्ष या विपक्षमा नउभिने बताए । उनले भने, “हामी नेपालको हितमा कुरा राख्छौं । कसैलाई कार्डका रुपमा प्रयोग गर्दैनौं । सीमा मिच्यो, नाकाबन्दी गर्यो भन्नु भारतको विरोध होइन । हामीलाई चीनमुखी भन्नु निराधार हो । हाम्रो राजनीतिक प्रतिवदेनमा एमसीसीको विरोध र समर्थन छैन । तर एउटा देशलाई घेर्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौं ।”

नेपाली कांग्रेसलाई निषेध गर्नुपर्छ भन्ने एमालेले नठानेको बताए । उनले भने, “हाम्रो प्रमुख प्रतिस्पर्धा नेपाली कांग्रेससँग नै हुन्छ । तर नेपाली कांग्रेसलाई निषेध गर्नुपर्छ भन्ने ठान्दैन ।” उनले अहिलेको अवस्थामा निर्वाचनको विकल्प नभएको बताए । उनले थपे, “निर्वाचनको विकल्प एमालेले पहिले पनि देखेको थिएन, अहिले पनि देखेको छैन । यो सरकारले नयाँ काम गर्ने भन्दा पनि भत्काउने काम मात्र गरिरहेको छ । न संसद्ले काम गर्न सक्छ, न त सरकारले काम गर्न सक्छ । त्यसैले नयाँ प्रतिनिधिसभा ल्याउनुको विकल्प छैन ।”



प्रतिक्रिया दिनुहोस्