काठमाडौं, असोज १७ । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले पार्टीको आगामी महाधिवेशनमा सभापति जितेपछि शेरबहादुर देउवाले कृष्णप्रसाद सिटौलालाई कार्यवाहक सभापति दिने ठोकुवा गरेका छन् । त्यसका लागि स्थानीय तहमा देउवा र सिटौलाको समीकरण भइरहेको उनको दाबी छ ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता प्रधानले भने, “देउवालाई गत महाधिवेशनमै हामीले पार्टी सभापतिमा समर्थन गरेका हौं । त्यसैले उहाँसँगको समीकरण प्राकृतिक हुन्छ । स्थानीय तहमा कहाँ कोसँग समीकरण गर्दा साथीहरुको सुरक्षा हुन्छ, त्यसरी नै गएका हौं । घोषित रुपमा समीकरण बनिसकेको छैन । तर देउवा र सिटौलाको समीकरणको सम्भावना प्रबल छ ।”
नेता प्रधानले थपे, “कांग्रेस पार्टीमा सिटौला भनेको डिसाइडिङ फ्याक्टर हो । उहाँमा त्यो क्षमता छ । हरेक द्वन्द्वको व्यवस्थापन गर्नुहुन्छ । सिटौलालाई रामचन्द्र पौडेल समूहमा गएर सभापति दिने स्थिति पनि छैन । तर सिटौला र देउवा मिल्दा महाधिवेशन जितिने सम्भावना बलियो छ । त्यतिबेला राजनीतिक लेनदेन हुन्छ । यो देउवाका लागि अन्तिम महाधिवेशन हो । बीपी कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति दिनुभएको थियो, गिरिजाप्रसाद कोइरालाले सुशील कोइरालालाई बनाउनुभयो । आगामी चुनावपछि देउवा प्रधानमन्त्री पनि हुने भएकाले सिटौला कार्यवाहक सभापति बन्ने सम्भावना हुन्छ ।”
काठमाडौंको कांग्रेस राजनीतिमा प्रकाशमान सिंहसँग दसौं महाधिवेशनदेखिको द्वन्द्व अहिलेसम्म कायमै रहेको उनले बताए । उनले भने, “दसौं महाधिवेशनमा म गिरिजाप्रसाद कोइरालासँग थिएँ । हाम्रा पुराना साथीहरु हरिबोल भट्टराई, श्यामलाल श्रेष्ठ, तीर्थराम डंगोललाई प्रकाशमानले पाखा लगाउनुभयो । उहाँ गणेशमानजीको पुत्र हो, हाम्रो सम्मान छँदै छ । तर उहाँले आन्तरिक राजनीतिमा जुन हिसाबलेले गतिविधि गर्नुुहुन्छ, त्यो केन्द्रीय नेताको जस्तो छैन । त्यसैले गत आम निर्वाचनमा काठमाडौं क्षेत्र नं १ मा तामा तुलसी छोएर भोट माग्नुपर्यो । त्यसैले अहिले हामीले प्रकाशमानको समूह विरुद्ध देउवासँग समीकरण गरेका हौं ।”
उनले सिटौला समूह छाडेर काठमाडौंमा प्रकाशमान सिंहसँग समीकरण गरेका गगन थापा कुन समूहको नेता हुन् भन्ने ठेगान नभएको बताए । नेता प्रधानले भने, “गगन थापा नेपाली कांग्रेसको उदीयमान नेता हो, उहाँ कहाँ सुरक्षित हुन्छु भन्ने सोचेर हिँड्नुभयो । त्यसको मूल्यांकन पार्टीका साथीहरुले गर्लान् नै । देउवाले अर्जुननरसिंह केसीलाई गत महाधिवेशनमा मन्त्री र महामन्त्रीको उम्मेदवार बनाउनुभएको थियो, उतै जानुभयो । गगन थापा रामचन्द्र, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान कसको महामन्त्री हो भन्ने थाहा छैन । किनभने उहाँको घोषणासभामा कुनै पनि नेता थिएनन् । अझै पनि भन्न गाह्रो छ । उहँ देउवासँग पनि उत्तिकै दौडेको पात्र हो ।” नेता प्रधानले प्रधानमन्त्री देउवाले पहल कदमी लिँदालिँदै पनि मन्त्रीमण्डल विस्तार हुन नसकेको बताए ।
एनआरएन रेडियो कार्यक्रम ‘नेपाली बहस’ पाँचौं वर्ष प्रवेशका अवसरमा उनले बधाई तथा शुभकामना दिए । उनले भने, “तपाईंको स्टेट फडवार्ड प्रश्न श्रोताहरुले निकै मन पराउँछन् । तपाईंका कारण नै यो लोकप्रिय भएको छ । देशभेरिको नेटवर्क छ । तपाईं र टिमलाई बधाई तथा शुभकामना ।”