काठमाडौं, असोज २० । कूटनीतिज्ञ डा. लोकराज बरालले चीनले सीमा मिच्यो भन्दा चुप लाग्ने, भारतले मिच्यो भन्दा उफ्रने मनोविज्ञान खतरानाक भएको औंल्याएका छन् । उनले भावावेगमा आधारित भएर कूटनीति नचल्ने बताए ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दैै पूर्वराजदूत बरालले भने, “अहिले नेपालमा भारतभन्दा चीन बढी सक्रिय छ । राष्ट्रपतिलाई नै फोन गरेर नेकपाको विभाजन रोक्न आग्रह गरेको कुरा आएको छ । चिनियाँ राजदूतले सीमा विवाद छैन भन्दैमा हुन्छ ? दुई देशको संयुक्त सीमा अध्ययन कार्यदल बनाए के फरक पर्छ ? अहिले देखिएको विवाद सानो हो । मुलुक रहुन्जेल सीमा विवाद भइरहन्छ, चलिरहन्छ । तर हाम्रो मनोविज्ञान के भयो भने चीनले सीमा मिच्यो भन्दा चुप लाग्ने, भारतले मिच्यो भने सानो कुरालाई ठूलो बनाउने ।”
कूटनीतिज्ञ बरालले नेपालमा चीनको जतिसुकै प्रभाव भए पनि भारतको जति नहुने ठोकुवा गरे । उनले थपे, “राजनीति र कूटनीतिमा अप्रिय भइन्छ भनेर नेतृत्व चल्दैन । भावावेगमा आएको कूटनीतिले काम गर्दैन । ओली सरकार आत्मकेन्द्रित र उत्ताउलो भयो । त्यसले नेपाली नेताहरुको ठेगानै हुँदैन भन्ने भारतलाई परेको छ । उसले विश्वासिलो काम गरेन । ओलीले आफ्नो पार्टीको र आफ्नो छवि बनाउने हिसाबले काम गरे, राष्ट्रको हित हेरेनन् । जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गरे । उनले अलोकप्रियताको चिन्ता गरेनन् ।”
दुई वर्षपछि नयाँ दिल्लीमा नेपाल भारत सीमा सुरक्षा बैठक भए पनि लिपुलेक, लिम्पियाधुराको विवाद नउठेको उनले बताए । उनले भने, “भित्र वातावरण नसपारी बाहिर हल्ला गर्नुहुँदैन । कम्तीमा नेपालले भारतको विश्वास आर्जन गर्नुपर्यो । कहिले प्रो चाइनिज, कहिले उत्ताउलो भाषणबाजी गरेर कूटनीति चल्दैन । हामीले विचार नपुर्याउने हो भने हामी सीमाको एजेन्डा उठाइरहन्छौं, उनीहरुले टारिरहन्छन् । उनीहरु ईपीजी गर्छौं भन्छन्, गर्दैनन् । त्यसलाई हामीले गम्भीर रुपमा विचार गर्नुपर्छ ।”
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा प्रकाशन हतारको काम भएको उनको टिप्पणी छ । उनले भने, “चुच्चे नक्सामा हामीले रणनीतिक हिसाबले कति काम गर्यौं ? भारतले नक्सा निकाल्यो भनेर हामीले हत्तपत्त कम्पिटिसन गरेर नक्सा परिवर्तन गर्न हुन्थ्यो कि हुन्थेन ? कालापानीमा पहिलेदेखि विवाद छ । लिपुलेकसम्म ठीकै पनि होला । तर पर लिम्पियाधुरा त उत्तराखण्डनजिक पर्छ । भारतमा बीजेपी पनि उग्र राष्ट्रवादबाट आएको हो । हामीले पनि नेगोसिएसनका लागि होमवर्क गरेर वार्तामा बस्नुपर्नेमा संसद्बाट दुई तिहाइले पास गरिदियौं । अब हामीलाई पछाडि फर्कन अप्ठ्यारो छ, उनीहरुलाई पनि पछाडि फर्कन अप्ठ्यारो हुन्छ । मलाई सजिलोसँग सुल्झेलाजस्तो लाग्दैन । किनभने एकअर्काको विश्वास छैन । मिडिया, पब्लिक ओपनिएन, राजनीतिक दृष्टिकोणका कारण नेताहरु दबाबमा हुन्छन् ।”
नेपाल र भारतले एकअर्काको विश्वास बढाउनुपर्ने उनले बताए । उनले भने, “कूटनीति गहिरो चिन्तन र शान्त हिसाबले गर्नुपर्ने कुरा हो । यसलाई सौहार्द, सद्भावनापूर्ण बनाउनुपर्छ । नेपाल र भारतबीच विश्वासको वातावरण बनाउनुपर्छ । रणनीतिक रुपले हामीले चालेका कदम ठीक होलान् पनि । तर त्यसले हामीलाई कति फाइदा भयो त ? के हामीले विचार गरेका छौं ?”