काठमाडौं, ७ कात्तिक । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादीले आगामी मंसिर ४ गते काठमाडौंमा हुने ‘एमसीसी सम्झौता खारेजी अभियान अन्तर्गतको आमसभा’ मा सहभागी हुन सबैलाई आह्वान गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समाजवादीको यहि कात्तिक ५ र ६ गते बसेको केन्द्रीय समितिको विस्तारित बैठकले आमसभा गर्ने निर्णय गरेको जानकारी दिईएको हो ।
कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष कर्णजित बुढाथोकी (शुशिल) ले बैठकले ‘वैज्ञानिक समाजवाद स्थापनाको वर्तमान कार्यभार नामक राजनीतिक प्रस्ताव’ ब्यापक छलफल गरी परिमार्जन सुझावसहित पारित गरिएको जानकारी दिए । उनले एमसीसी सम्झौता खारेजी अभियानलाई सहयोग गर्न मंसिर ४ गते पार्टीले आयोजना गर्ने आमसभामा सहभागी हुन सबैलाई आग्रह गरे ।
बुढाथोकीले भने,‘राजनीतिक जनपरामर्श सम्मेलन र कम्युनिष्ट सम्मेलन आयोजनाको दबाब सिर्जना गर्न बिशाल आमसभा आयोजना गर्ने निर्णय गरेका छौ, सबैजना सहभागी भैदिनु होला ।’ उनले आमसभा सफल पार्न सम्पुर्ण जनसमुदाय, राजनीतिक पार्टीहरु, शक्तिहरु, पत्रकार नागरिक समाज, व्यवसायी, विभिन्न बौद्धिक व्यक्तित्वहरुमा आर्थिक, नैतिक, भौतिक सहयोगको समेत अपिल गरेका छन् ।
अध्यक्ष बुढाथोकीले आमसभाको तयारीको लागि आफ्नै तेतृत्वमा ४ सय ९१ मुल व्यवस्थापन समिति, केन्द्रीय सचिवालय र विभागहरु गठन गरेको समेत जानकारी दिए ।उनले बिस्तारीत बैठकले पहिलो कम्युनिष्ट सम्मेलन आयोजनासम्बन्धी निर्णय गरेको पनि सुनाए । उनले माओवादी पार्टीहरुबिच पार्टी एकता र अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीच संयुक्त मोर्चा निर्माण गर्ने निर्णय गरेको बताए ।