काठमाडौं, कात्तिक १७ । नेपाली कांग्रेसका युवा नेता उदयशमशेर राणाले चार वर्षपछि नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुनु स्वाभाविक भएको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता राणाले भने, “जलवायु सम्मेलनका क्रममा स्कटल्यान्डको ग्लासगोमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइनमा भेट वार्ता हुनु सामान्य हो । नेपाल र भारतका प्रधानमन्त्रीबी साइडलाइन भेट नभएको भए बरु किन भएन भन्न हुन्थ्यो ।”
राणाले दुई देशका नेताहरुबीचको भेटवार्तालाई आइसब्रेक भन्न नमिल्ने जिकिर गरे । उनले थपे, “हामी धेरै नजिकका छिमेकी हौं । त्यसैले कहिलेकाहीँ समस्या आउँछन् । तर दुई नेेताहरूबीचको भेट आइसब्रेक पनि होइन, उपलब्धि पनि होइन ।”
प्रधानमन्त्री देउवाले सबैभन्दा पहिले भारतको भ्रमण गर्ने परम्परा किन तोड्नुभएको हो भनी पत्रकार धमलाले गरेको प्रश्नमा नेता पूर्व अर्थराज्यमन्त्रीसमेत रहेका राणाले भने, “अहिले विश्वभरि नै कोभिड र लकडाउनका कारण अत्यन्त जरुरी नभईकन विदेश भ्रमण गरिँदैन । यो प्रधानमन्त्री देउवाको औपारिक बेलायत भ्रमण पनि होइन । उहाँ त जलवायु सम्मेलनमा सहभागी हुन जानुभएको हो । त्यसैले नेपालको प्रधानमन्त्री भारत नजाने भन्ने कुरा पनि आउँदैन, भारतको प्रधानमन्त्रीले नबोलाउने भन्ने पनि कुरा आउँदैन । समय मिलेपछि उहाँ भारत जानुहुन्छ ।”
अन्तरराष्ट्रिय फोरममा गएपछि आफ्नो कुरा राखेर या अरुको कुरा सुनेर मात्र होइन, सबै देशका नेताहरुसँग संवाद बढाउनु आवश्यक रहेकाले प्रधानमन्त्रीले सबै देशका सरकार एवं राष्ट्राध्यक्षसँग कुराकानी गरेको बताए । उनले भने, “हाम्रो सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध छ । भारतसँग त सरकार-सरकारबीच मात्र नभएर जनता-जनता र पार्टी-पार्टीबीच सम्बन्ध छ । त्यसैले मोदी र देउवाको भेट सामान्य हो ।”
नेता राणाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै कमीकमजोरीका कारण न्यायपालिकामा समस्या आएको तर यसलाई सर्वोच्च अदालतका न्यायाधीशहरु र बार मिलेर सुरक्षित अवतरण गर्नुपर्ने औंल्याए । उनले भने, “न्यायपालिकाको विवादलाई सकेसम्म न्यायापालिकाभित्रै समाधान गर्नुपर्छ, संसद् वा सरकारसम्म पुग्नुहुन्न भन्ने मेरो धारणा छ । यसले लोकतन्त्र, संविधान र न्यायालयका निम्ति राम्रो गर्दैन । कोही पनि व्यक्ति देश र जनता वा अदालतभन्दा माथि हुन्नन् । व्यक्तिका कारण संस्थालाई नै आक्षेप लाग्ने अवस्था आउन दिनुहुँदैन । त्यसैले विवाद चर्काउँदै जानुभन्दा चोलेन्द्रशमशेरले राजीनामा दिनु उपयुक्त हुन्छ ।”