चितवन, १० मंसिर । नेकपा (एमाले) का उपमहासचिव तथा पूर्वमन्त्री घनश्याम भुसालले आजबाट सुरु भएको १०औं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफ्नो दाबी स्वभाविक रुपमा अब उपाध्यक्षमा भएको भन्दै सोही पदमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।
अहिले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा सहमतिमै नेतृत्व चयन गरिने बताएका छन् । तर, नेताहरुले भने धमाधम उम्मेद्धवारी दिने घोषणा गरेका छन् । भुसालले पनि आजमात्रै उपाध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको बताए । भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ ।
निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान गरिनेछ । अध्यक्षमा भने केपी ओलीलाई उपाध्यक्ष भीम रावलले चूनौति दिएका छन् । उनले यसअघि नै रिपोर्टर्स क्लब नेपालमार्फत उम्मेद्धवारी घोषणा गरिसकेका छन् । उनी कुनैपनि हालतमा ब्याक नहुने उनीनिकट नेताहरु बताउँछन् ।