Logo

नेपाल आएका भाकपा नेता सिंहले भने–मोदी सरकारलाई हटाउन सकिएन भने भारत बर्वाद हुन्छ (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । भारतीय कम्युनिष्ट मार्क्सवादी पार्टी (भाकपा) का नेता जोगिन्दर सिंहले भारतीय जनताले नरेन्द्र मोदीको सरकारलाई सत्ताबाट हटाउन चाहेको टिप्पणी गरेका छन्। उनले भने,‘मोदी सरकारलाई हटाउन सकिएन भने भारत बर्वाद हुन्छ । उसले पूरा हिन्दू र मुसलमानको नाममा, धर्मको नाममा समाजलाई विभाजन गरिरहेको छ ।’

एमालेको १०औं महाधिवेशनमा सहभागी हुनको लागि चितवन आईपुगेका नेता सिंहले यस्तो बताएका हुन् । उनले नेपाल–भारतबीच सुमधुर सम्बन्ध रहेको पनि स्पष्ट पारे । उनले मोदी सरकारले नेपालको विकासका लागि गम्भीर पहल गरेको भन्नु गलत हुने पनि बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालका नेताहरुसँग कस्तो सम्बन्ध छ भनेर आफूलाई कुनै जानकारी नभएको पनि सुनाए ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउनको लागि यहाँका सबै कम्युनिष्टहरु एकजुट हुनुपर्ने पनि उनको सुझाव थियो । पार्क सफारी होटलमा प्राइम टिभीको लागि जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग् कुरा गर्दै उनले यस्तो बताएका हुन् । आफूहरु नेपाली जनताको पक्षमा रहेको पनि उनले सुनाए । उनले भारतको जनता पनि नेपाली जनताको साथमा रहेको सुनाए ।

नेपालको राजनीतिमा अहिलेसम्म भारतीय कम्युनिष्ट पार्टीले कहिल्यैपनि हस्तक्षेप नगरेको जिकिर गरे । उनले आफूहरु नेपालमा राजसंस्था होस भन्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । उनले भने,‘हामी त नेपालमा पूरा तवरले दक्षिणपन्थ समाप्त होस भन्ने चाहन्छौं ।’ उनले लोकतान्त्रिक–वापन्थी शक्ति बलियो होस भन्ने आफूहरुको कामना रहेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्