Logo

गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रः प्रधानमन्त्री देउवा



काठमाडौं, मंसिर २०। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्र भएको बताएका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले राष्ट्रिय सभाको चुनावपछि निरन्तरता पाउने वा नपाउने भन्ने विषयमा छलफल गर्न बाँकी रहेको बताएका छन् ।

‘अहिलेको गठबन्धन राष्ट्रिय सभाको चुनावसम्म मात्रै हो’, देउवाले भने, ‘त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएको छैन ।’ राष्ट्रिय सभाका २० सदस्यको पदावधि फागुन २० गते सकिँदै छ । तीमध्ये १९ जनाका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । एक जना चाहिँ राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् ।

प्रधानमन्त्री देउवाले पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी रहने जनाएका छन् । देउवाले आसन्न महाधिवेशनबाट आफू अन्तिम पटकका लागि पार्टीको सभापति हुन चाहेको धारणा राख्दै सबैलाई एक पटक पुनः सहयोग गर्न आह्वानसमेत गरेका छन् ।। कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्