काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको आजबाट सुरु भएको १४औं महाधिवेशनमा पदाधिकारीमा भागबण्डा मिलाउनको लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच आज निर्णायक वार्ता हुने भएको छ। सिटौला समूहका प्रभावशाली नेता प्रदीप पौडेलले आज सभापति देउवा र नेता सिटौलाबीच प्याकेजमा सहमति खोज्न छलफल हुन लागेको जानकारी गराए । कांग्रेसको विभिन्न तहका अधिवेशनमा सिटौलाले देउवालाई सघाएका छन् । देउवा र सिटौलाबीच गठबन्धन हुँदै आएकोले पनि धेरै नेता तथा कार्यकर्ताले यसपटक देउवा–सिटौलाको गठबन्धन बन्ने आँकलन गरेका थिए ।
यता, महाधिवेशनको उद्घाटन सत्रको भाषणमै सिटौलाले महामन्त्रीमा उम्मेद्धवारी घोषणा गरेका आफ्नो समूहका नेता प्रदीप पौडेलको लागि मत मागेका छन् । उनले महाधवेशन उद्घाटनमा युवाका तर्फबाट भन्दै नेता प्रदीप पौडेललाई अघि सार्दै भोट समेत मागेका छन् । १४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै सिटौलाले पार्टीलाई जनताको नजरमा समुन्नत बनाइ आगामी निर्वाचनमा पहिलो पार्टी बन्नुपर्ने बताएका छन् । यसका लागि नेतृत्व बलियो बन्नुपर्ने उनको भनाइ छ ।
उनले कांग्रेसले मात्र देश राम्रो बनाउने दाबी पनि गरे । उनले पार्टीलाई युवापुस्तामा हस्तान्तरण गर्ने वेला भएको पनि बताए । सो अवसरमा बोल्दै नेता शशांक कोइरालाले कांग्रेस नीति छोडेर नेतृत्वमा केन्द्रीत हुनु दुखद भएको भन्दै त्रुटीहरु सुधारेर संविधान कार्यान्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।