Logo

श्रीलंकाका लागि चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगेपछि…



एजेन्सी, ३ पुस। श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले चर्चा पाएको छ । बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन् । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको बुझिएको छ ।

एक हिन्दु श्रद्धालुको भेषभुषामा धोती लगाएर प्रसादको टोकरी बोकेको अवस्थामा मन्दिरमा राजदूत झेनहोङ देखिएका छन् । अर्कोतिर मन्दिरबाहिर उपस्थित भक्तजनलाई फलफुल बाँडिरहेको अवस्था चिनियाँ राजदूत देखिएका छन् । मन्दिरका अलावा चिनियाँ राजदूत उत्तरी श्रीलंकाका उच्च अधिकारीसँग भेटिरहेका छन् । तर, चर्चा भने मन्दिरको दर्शन गरेकोमा भएको छ ।

तमिलनाडुसँग विशेष सम्बन्ध भएको उत्तरी श्रीलंकामा भारतको राजनीतिक र सांस्कृतिक प्रभाव छ । पछिल्लो समय श्रीलंकामा चिनियाँ लगानी निरन्तर बढिरहेको छ । अब चीनले उत्तरी श्रीलंकामा आफूलाई केन्द्रीत गरेको र यसैअन्तर्गत सांस्कृतिक डिप्लोमेसी अपनाएको विश्लेषण हुन थालेको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्