काठमाडौं, २० पुस । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा वेन्समाथि जित निकालेको छ ।
सोमबार राति भएको खेलमा पीएसजीका केलियन एमबाप्पेले ह्याट्रिक गर्दा वेन्स ४–० गोल अन्तरले पराजित भएको हो ।
खेलको २८औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई सुरुवाति अग्रता दिलाएका थिए ।
५९औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
साथै, ७१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एमबाप्पेले खेललाई ३–० को अवस्थामा पुर्याएका थिए ।
त्यसपछि, खेलको ७६औं मिनेटमा ह्याट्रिक गोल गर्दै उनले टोलीलाई शानदार जित दिलाए ।
यस ह्याट्रिक सँगै उनले पीएसजीका लागि १ सय ५० गोल पुरा गरेका छन् ।