Logo

सर्वदलीय बैठक बस्दै, एमाले बेखवर



काठमाडौं, माघ ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् । तर, नेकपा (एमाले)ले भने बैठकका बारेमा पार्टीलाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पारेको छ ।

केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले समाजिक सञ्जालमार्फत पार्टीलाई सर्वदलीय बैठकबारे जानकारी नभएको दाबी गरेका हुन् । उनले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमालें) को सहमति नहुने समेत धारणा बाहिर ल्याएका छन् ।

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएका सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने अनुपस्थित रहँदै आएको थियो ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सर्वदलीय बैठक बोलाउनुअघि काँग्रेस सभापति समेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरुसँग पनि छलफल गरेका थिए ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको बताईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्