काठमाडौं, माघ २८ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।आज बस्ने भनिएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं कार्यालय सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक स्थगित भएको बताए ।
केन्द्रीय समितिको बैठकले पदाधिकारी, स्थायी समितिको सदस्य, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, स्थानीय तहको निर्वाचन, एमसीसीसहित पछिल्लो राजनीतिक अवस्था छलफल गर्ने एजेन्डा रहेको थियो ।
तर, पदाधिकारीलगायतका विषयमा तयारी नपुगेकाले बैठकको अघिल्लो दिन स्थगित गर्नुपरेको माओवादी स्रोतले जनाएको छ । यस्तै, बैठकमा एमसीसी परियोजना समेत विवाद हुन सक्ने भएकाले बैठकलाई पर धकेल्ने काम भएको हुन सक्ने दाबी स्रोतको छ ।
एमसीसी परियोजना सत्तारूढ पाँच दलीय गठबन्धनभित्र समेत विवाद छ । एमसीसी सचिवालयलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा पत्र लेखेपछि विवाद झन् बढ्दै गएको छ ।
यद्यपि, प्रचण्डको सचिवालयले एमसीसी परियोजनाको सर्त संशोधन नगरी पारित गर्न नसकिने भन्दै प्रस्टीकरण दिएको छ । अर्को बैठक कहिले बस्ने भन्ने निश्चित भएको छैन ।