काठमाडौं, फागुन ६ । नेकपा एकिकृत समाजवादी (एस) का सम्मानीत नेता झलनाथ खनालले अहिले १० बजे बस्ने सरकारमा सहभागी दलहरूको बैठकमा नयाँ प्रस्ताव लिएर अघि बढ्ने बताएका छन् । वरिष्ठ पत्रकार ऋषि धमालासंग संक्षिप्त कुरा गर्दै खनालले आजको गठबन्धनको बैठकमा नयाँ प्रस्ताव लिएरजाने जनाएका छन् ।
अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा केन्द्रित रहने आजको बैठकमा जारी गठबन्धन नटुट्नेगरि नयाँ प्रस्ताव अघि बढ्ने खनालको भनाई छ ।
आजको बैठकले सरकारले संसदमा एमसीसी लैजाने हो वा हैन भन्नेबारे प्रष्ट धारणा बनाउदै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बसेको बैठकमा संसद्लाई कसरी सुचारु गर्ने, एमसीसीलाई संसद्मार्फत कसरी निश्कर्षमा पुर्याउने भन्नेबारे छलफल भएपनि निष्कर्ष निस्कन सकेको थिएन् । त्यसपछि बैठक आज पुनः बस्नेगरि तय गरिएको थियो ।
विहिबारको बैठक एमसीसीलाई फागुन १६ गतेभित्र कसरी निश्कर्षमा पुर्याउने भन्नेबारे केन्द्रित रहेको थियो । सत्तारुढ गठबन्धनबीच एमसिसी अघि बढाउने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री देउवा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
बालुवाटारमा तीन घण्टा लामो छलफल गर्दापनि एमसीसीबारे कुनै सहमति नभएपछि ओलीलाई भेट्न प्रधानमन्त्री देउवा पत्नी आरजु देउवासहित बालकोट पुगेका थिए। गठबन्धनको बैठकपछि आजैकार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठकमा एमसिसी टेबुल गर्ने सरकारले चाहिरहेको छ।