Logo

प्रतिनिधिसभा बैठक बस्दै



काठमाडौं, फागुन १३ । प्रतिनिधिसभामा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामाथि छलफलको प्रक्रिया राजनीतिक सहमतिका लागि विहिबार स्थगन गरिएको संसद् बैठक आज बस्ने भएको छ ।

सम्झौता अनुमोदनको विषयमा सत्ता गठबन्धन नै विभाजित भएपछि प्रतिपक्षसँग समेत थप छलफल गर्न सरकारको आग्रहमा विहिबार बैठक स्थगित गरिएको हो ।

सभामुख अग्निप्रसाद सापकोटासमक्ष कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि बैठक स्थगित गरिदिन आग्रह गरेपछि आज १ बजे संसद् बैठक बस्ने भएको छ ।

विहिबार बैठक स्थगित लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसंग भेटवार्ता गरेका थिए। एमालेले हाल एमसीसीमा कुनै स्पष्ट धारणा बनाएको छैन । माओवादी केन्द्रले विपक्षमा मत अडान लिइरहेको छ भने नेकपा (एकीकृत समाजवादी) एमसीसीको विषयमा विभाजित छ ।

एमसीसी निर्णायक बन्दै जाँदा गठबन्धन कसरी अघि बढ्ने अन्योलमा परेको छ । गठबन्धनका दलहरू नै अलमलमा परेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले प्रमुख विपक्षी दल एमालेसँग संवाद अघि बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्