Logo

जनार्दन र वर्षमानलाई बोलाएर प्रचण्डले सहमति गर्न भने, महासचिवमा कसले मार्ला बाजी ?



काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी चयनको तयारी थालेका छन् । जारी केन्द्रीय कमिटी बैठकबाटै पदाधिकारी चयन गरिने तयारी भैरहेको बेलामा अध्यक्ष दाहालले पदाधिकारीका आकांक्षीहरुसँग छलफल अघि बढाएका छन्।

पदाधिकारी चयनमा सबैभन्दा पेचिलो विषय महासचिव चयन भएको छ । महासचिवमा धेरै नेताहरुको दाबी छ । तर, मुख्य प्रतिष्पर्धा भने जनार्दन शर्मा र वर्षमान पुनबीच रहेको छ । पुन लामो समय चीनमा उपचार गराएर स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेबित्तिकै उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटवार्ता बढाएका छन् ।

उता, महासचिवका अर्का दाबेदार जनार्दन शर्माले पनि प्रचण्डमाथि आफू महासचिव बनाउनुपर्ने दबाब सिर्जना गरेका छन्। आजको बैठक सुरु हुनुभन्दा अघि नै प्रचण्डले शर्मा र पुनलाई बोलाएर महासचिवमा सहमति कायम गर्न आग्रह गरेका थिए । पुनले त पार्टीभित्र हुने सहमति आफूलाई मान्य हुने बताउँदै आएका छन् ।

तर, सहमति नभए निर्वाचन हुँदा महासचिवमा आफू पनि स्वभाविक दाबेदार भएको उनको भनाई छ । र, निर्वाचनमा भाग लिन पाउनुपर्ने अडान राखेका छन् । शर्माले पछिल्लो समय अध्यक्ष दाहाललाई एकपछि अर्को कदममा साथ दिँदै आएका छन् । एमसीसी सदनबाट पारित गराउने बेला सकसमा परेका दाहाललाई शर्माले खुलेर साथ दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्