Logo

भारतसँगको सीमा विवाद तत्काल सल्टिने अवस्था छैनः लोकराज बराल



काठमाडौं, १५ चैत । कूटनीतिज्ञ लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद उठाउनु उचित नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बरालले भने, “प्रधानमन्त्रीको भारत भ्रमणमा धेरै ठूलो कुरा अहिले राख्नु उचित छैन । सुस्ताको विवाद त सल्टिएको छैन भने लिम्पियाधुराको समस्या तत्काल सल्टिने देखिँदैन । सीमा विवादबारे दुई देशबीच बैठक समेत राख्न नसकेको अवस्था छ ।”
उनले थपे, “भारतले कालापानीसम्म त मानेको थियो पहिले । तर लिम्पियाधुराको कुरामा भारतलाई मनाउन सजिलो छैन । त्यहाँ सुरक्षादेखि उत्तराखण्डका जनताको कुरा पनि जोडिएको छ । मैले भारतीय मन्त्री नितिन गडकरीको भाषण सुनेको थिएँ । सन् २०२४ सम्म लिपुलेकबाट मानसरोवर जाने बाटो तयार हुन लागेको रहेछ ।”
देउवाको भ्रमणले दुई देशबीचको चिसोपना हट्ने विश्वास पनि उनले व्यक्त गरे । उनले थपे, “कोभिडका कारण दुई देशका प्रधानमन्त्रीबीचको सद्भावना भ्रमण रोकिएको थियो । भ्रमण हुनु त नयाँ कुरा होइन । अब नयाँ एग्रिमेन्ट हुने भन्दा पनि भएका एजेन्डा कसरी अघि बढाउने भन्ने कुरामा छलफल हुन सक्छ । मुख्य कुरा नक्सा प्रकरणपछि दुई देशबीचमा आएको चिसोपनालाई सामान्यीकरण गर्ने वा अलिकति तातो पार्ने अवसर छ ।”
उनले दुई देशका प्रधानमन्त्रीहरुबीच व्यापार घाटा, सीमा व्यवस्थापन, बन्दरगाह, विकासका कुरा हुन सक्ने औंल्याए । उनले भने, “जनकपुर—जयनगर रेल डेढ वर्षदेखि थन्किएको छ । कहिले कानुन छैन भन्छन्, कहिले मान्छे छैनन् भन्छन् । नाथे ३५ किलोमिटरमा दुईटा रेल कुदाउन त प्रलय छ । हुलाकी राजमार्ग कम्प्लिट भएको छैन । २५ वर्षदेखि महाकाली सन्धि अघि बढेको छैन । महाकाली सन्धिको नेगोसिएसनमा म पनि राजदूतको हिसाबले सोल्टी होटलमा रातभरि बसेको थिएँ । मोदी आउँदा डीपीआर बन्ने भनेको पनि त्यत्तिकै सेलायो । त्यसैले नयाँ कुरा केही होला भन्ने मलाई लाग्दैन ।”
परराष्ट्र नीतिका सम्बन्धमा प्रधानमन्त्री देउवाले लिएको लाइन ठीक रहेको पनि उनले बताए । बरालले भने, “अहिले शेरबहादुरजीले लिएको नीति ठीकै छ । एमसीसी पास गर्नुभयो, चिनियाँ विदेशमन्त्रीको भ्रमण गराउनुभयो, अहिले भारत जान लाग्नुभएको छ । मैले यसमा बेठीक भन्ने ठाउँ देख्दिनँ ।”
चीनले वामपन्थी शक्तिलाई मिलाउन खोजे पनि नसक्ने उनको जिकिर छ । उनले थपे, “चिनियाँ विदेशमन्त्री भारत भएरै आएका हुन् । चीनले दक्षिण एसियाका देशसँगको सम्बन्ध सामान्यीकरण गर्न खोजेको छ । भारतलाई पनि भरसक मिलाएर जान खोजेको छ । नेपालका कम्युनिस्ट पार्टी मिलाउने, जुटाउने, एमसीसीबारे टिकाटिप्पणी गर्ने गरिरहेको छ । वामपन्थी मिलाउनु चीनको वशमा छैन । एमसीसी चीनसँग नजिक छौं भन्ने वामहरुले नै पास गरेका होइनन् ? चीनले जति मिलाउन खोजे पनि वामको स्वार्थ मिलाउन गाह्रो छ ।”
गठबन्धनमा रहेर चुनावमा जाने शेरबहादुर देउवाको रणनीति व्यावहारिक रहेको पनि नउले टिप्पणी गरे । उनले भने, “आगामी चुनावमा गठबन्धनमा जाने शेरबहादुरजीको नीति व्यावहारिक छ । कांग्रेसले आफ्नो छातामुनि लगेन भने यिनको केही ठेगान छैन । भोलि ओलीसँग मिल्दिन सक्छन् । कांग्रेस त अलपत्र पर्छ । सँगै जानु राम्रो हुन्छ । बरु संसद्को चुनावमा सोच्ने कुरा हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्