काठमाडौं, २० चैत । कूटनीतिज्ञ लोकराज बरालले नेपाल-भारतबीचको सीमा विवाद टुंग्याउन सजिलो नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ बरालले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबाट दुई देशबीच विश्वासको वातावरण बनेको छ । नेपाल र भारतको सरकार नजिक भएका छन । तर सीमा विवाद सजिलै टुंगिएला भन्ने लाग्दैन । नेपाल र भारतबीच साना साना कुरा त समाधान भएका छैनन् । तर सधैं नकारात्मक कुरा गरेर पनि हुँदैन । हामीले प्रयास गर्ने हो, भनिरहने हो । सीमाबारे वार्ता सुरु गर्नु पनि ठूलै कुरा हुन्छ । अब हामीलाई सेलाउने छुट छैन ।”
पञ्चेश्वर परियोजना, अन्तर्देशीय विद्युत् प्रसारण लाइनका कुरा पनि सकारात्मक भएको उनको टिप्पणी छ । बरालले भने, “पञ्चेश्वर परियोजना, अन्तर्देशीय विद्युत् प्रसारण लाइनका विषयमा जति सहमति भएका छन्, ती सकारात्मक र नेपालको हितमा छन् । । पञ्चेश्वरका बारेमा मोदीले अघि बढाउने तत्परता देखाएका छन्, कार्यान्वयन कति हुन्छ भन्न सकिँदैन । फाइदा भनेको आजको भोलि नै पाउने होइन । समझदारी बढ्नु पनि महत्त्वपूर्ण हो ।”
अरुको मुख ताकेर मात्र देश विकास गर्न नसकिने पनि उनले औंल्याए । बरालले भने, “अब जयनगर-जनकपुर रेल कति दिन चल्छ ? पहिले जनकपुर-अयोध्या बस पनि सञ्चालन भएको थियो । चीनले काठमाडौंमा टली बस बनाइदियो तर हामीले चलाउन सकेनौं । हामी आफ्नो साधन स्रोत प्रयोग गर्न सक्दैनौं । भएको बजेट खर्च गर्न सक्दैनौं । भएको बजेट दुरुपयोग गर्छौं । अरुको मुख ताकेर मात्र देशको विकास हुँदैन ।”
उनले भारतीय लगानीका लागि वातावरण बनिनसकेको टिप्पणी गरे । उनले भने, “गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा म भारताको राजदूत थिएँ । त्यति बेला १२० जना उद्योगपतिले फर्म दर्ता गरेका थिए । तर दुई चार जनाले पनि लगानी गरेनन् । उनीहरु निराश भएर फर्के । यहाँ केही पनि ठीक छैन । दुई तिहाइको सरकार टिकेन । अहिले त झन् खिचडीतन्त्र छ ।”
कूटनीतिज्ञ बरालले प्रधानमन्त्री शेरबहादुर देउवा भाजपाको मुख्यालयमा जानु उचित नलागेको पनि टिप्पणी गरे । उनले भने, “प्रधानमन्त्री सुरुमै भाजपाकोे हेडक्वार्टरमा जानु मलाई त्यति उचित लागेन । पार्टीको सभापतिका रुपमा जाँदा ठीकै हो । प्रधानमन्त्रीका रुपमा जाँदा प्रोटोकल मिलाउनुपर्छ । अपोजिसनलाई पनि भेटेको भए हुन्थ्यो । वनारस जानु त एक काम दुई पन्थ नै हो । हिन्दुवाला खुसी हुन्छन् ।”