Logo

भरतपुरमा पार्टीको निर्णय सच्याउन लगाउने क्षमता कार्यकर्तामा छ : कांग्रेस नेता



काठमाडौं, ७ बैशाख । चितवन नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले भरतपुरमा माओवादीलाई मेयर नछाड्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका कोइरालाले माओवादीकी रेणु दाहाललाई समर्थन नगर्ने दाबी गरेका हुन् ।

उनले समाचारमा आएको खबर पार्टीले निर्णय नगरेको पनि स्पष्ट पारेका छन् । आफुले त्यस्तो घातक निर्णयको विश्वास पनि नगर्ने समेत उल्लेख गरेका छन् ।  कांग्रेस केन्द्रले रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेको कतिपयले भनेपनि उनले अहिलेसम्म आधिकारिक निर्णय भएको जानकारी नभएको समेत बताएका छन् ।

कम्युनिष्ट शैलीमा भूमिगत निर्णय गरिएको छ भने पनि त्यो निर्णय निश्चित रुपमा उल्टने समेत नेता कोइरालाले चेतावनी दिएका छन् ।
कांग्रेस लोकतान्त्रिक पार्टी हो भन्दै उनले गाउँ नगरका कार्यकर्ताहरु लोकतन्त्रका अगुवा भएको र पार्टी केन्द्रले अरु कसैको बहकाउमा परेर, ब्ल्याकमेलिङको सिकार बनेर अन्यथा निर्णय गरेको अवस्थामा निर्णय सच्याउन लगाउने क्षमता चितवन कांग्रेसका कार्यकर्ताहरुमा भएको बताएका छन् ।

चितवन कांग्रेसका कार्यकर्ताहरु नेपालकै नमूना कार्यकर्ता हुन् भन्दै उनले लेखेका छन्,‘माओवादी केन्द्रलाई नेपाली कांग्रेसले मेयर पद दिन सक्दैन र दिँदैन पनि । यसमा नेपाली कांग्रेस केन्द्रले विपरित निर्णय गर्दैन र गर्न सक्दैन ।’



प्रतिक्रिया दिनुहोस्