Logo

‘हिन्दूराष्ट्र र राजसंस्था फर्काउन’ शाही युवा शक्ति नेपालको स्थानीय तहको निर्वाचनमा देशव्यापी रुपमा स्वतन्त्र उम्मेद्धवारी दिने घोषणा



काठमाडौं, १० वैशाख । शाही युवा शक्ति नेपालले स्थानीय तहको निर्वाचनमा देशभरी स्वतन्त्र रुपमा उम्मेद्वारी दिने घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा शक्ति नेपालले गाउँबाटै हिन्दुराष्ट्र र राजसंस्था फर्काउने उद्देश्यका साथ उम्मेद्वारी दिने घोषणा गरेको हो ।

शाही युवा शक्ति नेपालका केन्द्रीय अध्यक्ष पशुपती खड्काले नेपाली जनताले निर्वाचन नचाहेको भन्दै जनताले गणतान्त्रिक व्यवस्थाको अन्त्य र राजाको पुनर्बहाली चाहेको दाबी गरे । ‘हामी जुनसुकै बाटोबाट भएपनि राजसंस्था फर्काउन चाहन्छौं, त्यसकै लागि हामी चुनावमा सहभागी हुँदैछौं’–उनले भने ।

गणतन्त्रलाई धतुरोको बोटको संज्ञा दिँदै धतुरोको बोटमा कहिल्यैपनि आँप नफल्ने खड्काको भनाई थियो । गणतन्त्रले नेपाली जनताको हित नगर्ने र यो कुरा जनता स्वयमले पनि अहिले आएर महशुस गरेको उनको दाबी छ ।

यस्तै, उनले जनताको भावना बुझेर राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोकेर आफूहरु स्थानीय तहको निर्वाचनमा होमिएको सुनाए । स्थानीय तहको निर्वाचनलाई गाउँ–गाउँबाट राजसंस्था फर्काउने अवसरको रुपमा लिई शाही युवा शक्ति नेपालका स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन उनले आग्रह गरे ।

उनले राजसंस्था कुनै पार्टीले नभएर नेपाली जनताले फर्काउने भन्दै कुनै पार्टीको झोला बोकेर हिँड्नुभन्दा देशको झण्डा बोकेर सडकमा आउन आम जनतालाई आग्रह गरे ।

राप्रपाले राजसंस्था फर्काउँछ भनेर जनता ठूलो भ्रममा परेको भन्दै उनले भने, ‘राजेन्द्र लिङ्देनको पार्टीले राजसंस्था फर्काउँछ भनेर जनता उर्लिएका छन् । ती सबै मान्छे राजसंस्था फर्काउन उर्लिएको हो भने हामीसँग आउनुहोस । संविधान च्यातौं । राजसंस्था हामी फर्काउँछौं ।’

शाही युवा शक्ति नेपालका महामन्त्री कृष्णराज थापाले स्थानीय निर्वाचन शाही युवा शक्तिको तर्फबाट स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन आम मतदाताहरुसमक्ष आग्रह गरेका छन् ।

साथै, उनले युवाहरुले बृद्ध नेताको झोला बोक्नुको साटो आफँै नेतृत्व गर्न अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालमा हिन्दूराष्ट्र र राजसंस्थाको विकल्प नरहेको पनि जिकिर गरे । आफूहरुले विगत लामो समयदेखि यो एजेण्डा बोकेर हिँडेको र अब छिट्टै आफूहरुको अभियानले सार्थकर्ता पाउने थापाको दाबी छ ।

शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम वैदारले काभ्रेको बनेपा नगरपालीकाको मेयरमा उम्मेद्वारी दिने घोषणा गरे । उनले नेपालका राजनीतिक दलहरुले जनतालाई भेडा बनाउने गरेको आरोप लगाउँदै अब जनता सचेत हुनुपर्ने भन्दै स्वतन्त्र उम्मेद्वारलाई विजयी बनाउन अपिल गरे ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले देशलाई बचाउनका निम्ति शाही युवा शक्तिको भुमिका महत्वपूर्ण रहेको भन्दै स्वतन्त्र रुपमा आ–आफ्नो ठाउँबाट स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दिन आह्वान गरेका छन् ।

शाही युवा शक्ति नेपालले बिगत लामो समयदेखि सडक संघर्ष गर्दै आएको स्मरण गराउँदै उनले देशभरिबाट स्वतन्त्र रुपमा एकजुट भएर अगाडी बढ्ने बताए । साथै, उनले राजालाई गद्दीमा ल्याउन आफूहरुले सक्रिय भूमिका खेल्ने दाबी गरे ।

अर्का केन्द्रीय सदस्य कविन्द्र देउजाले दशौं वसन्त पार गरेको शाही युवा शक्तिले निरन्तर रुपमा हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा उठाउदै आएको भन्दै यसपटकको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिन लागेको जनाए ।

उनले एमाले, माओवादी र काँग्रेसलाई भोट हालेर दिक्क मानेका जनताका लागि गणतन्त्र विरोधी भएपनि आफुहरु निर्वाचनमा सहभागी हुने र आफूहरुको एजेण्डालाई जनताले साथ दिने पनि विश्वास दिलाए । उनले आफूहरुले निर्वाचन जित्ने दाबी पनि गरे ।

हरिराम गौतमले स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरे । उनले मनवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरे । गाउँको शिक्षा र स्वास्थ्यको अवस्था बदल्न आफुले काम गर्ने योजना रहेको उनले सुनाए ।

केन्द्रीय सदस्य रामकुमार बस्नेतले देशमा हिन्दुराष्ट्र र राजसंस्थाको आवाज बुलन्द रुपमा उठ्न थालेको भन्दै यसको जस शाही युवा शक्ति नेपाललाई जाने बताए ।
यस्तै, एउटा अभियानले पनि स्वतन्त्र रुपमा उम्मेद्वारी दिनसक्छ भन्ने नयाँ अवधारणा शाही युवा शक्ति नेपालले ल्याएको बस्नेतले स्पष्ट पारे । उनले आफूहरुका धेरै उम्मेद्धवारले स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त गर्नेमा विश्वास दिलाए ।

शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य माधव कार्कीले रौतहट जिल्ला गुजरा नगरपालिकाबाट मेयरमा उम्मेद्वारी दिने घोषणा गरे । आफूले पूर्ण रुपमा निस्वार्थ भावले जनताको सेवा गर्ने पनि उनले प्रतिबद्धता जनाए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्