Logo

बागीलाई ‘ब्याक डोर’बाट कुनै नेताको उक्साहट होला, तर निर्णय व्यक्तिकै होः रमेश रिजाल



काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका नेता रमेश रिजालले केही ठाउँमा बागी भए पनि गठबन्धन सफल हुने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, “धेरैजसो ठाउँमा गठबन्धन सफल भएको छ, जनकपुर, भरतपुर लगायत केही स्थानमा सफल हुन सकेन । गठबन्धनको मूल्य, मान्यता साथीहरुले बुझेनन् । पार्टीमा बसेर पार्टीकै निर्णय नमान्नु दुर्भाग्यपूर्ण हो । तर बागीको उम्मेदवारी फिर्ता गराउन सकिएन भनेर निराश भएर बस्नुपर्ने ठाउँ छैन । हामी चुनौतीलाई चिर्दै अगाडि बढ्नुपर्छ । गठबन्धनका साथीहरु नै विजय हुन्छन् ।”
कांग्रेसले किन बागी उठाएको भन्ने पत्रकार धमलाको प्रश्नमा रिजालले भने, “नेपाली कांग्रेसले बागी उम्मेदवार खडा गर्दैन, आफ्नै उम्मेदवार खडा गर्छ । ब्याक डोरबाट कुनै नेताको हात होला, तर निर्णय व्यक्तिको हो । हामीले कसैको उक्साएको भरमा त्यस्तो निर्णय गर्दा राजनीतिक करिअरमा धक्का लाग्छ भनेर सम्झाएकै हो ।”
भरतपुर महानगरपालिकामा रेनु दाहालले नै जित्ने दाबी उनले गरे । रिजालले थपे, “हामीले बागी साथीलाई सम्झाउने कोसिस गरेका हौं । पार्टीमा यति धेरै लगानी गरेको नेता पार्टी निर्णयविरुद्ध नजानोस्, राजनीतिक करिअरमा ठूलो धक्का लाग्छ भनेकै हो । तर फिर्ता गराउन सकिएन । बागी उम्मेदवार पार्टीबाट ६ वर्षका लागि स्वतः निष्कासन हुन्छ । मलाई लाग्छ, भरतपुरमा गठबन्धनलाई कुनै गाह्रो पर्दैन । बागमतीमा धेरै पानी बगिसकेको छ । धेरै साथीहरु सचेत भइसक्नुभएको छ ।”
कांग्रेस नेता रिजालले वीरगन्ज महानगरपालिकामा कांग्रेसको कोही बागी नभएको बताए । उनले थपे, “माथिल्लो तहमा छैनन् । वडाध्यक्ष, वडा सदस्यमा उम्मेदवारी दिएका साथीहरुले फिर्ता लिएका छन् ।”



प्रतिक्रिया दिनुहोस्