काठमाडौं, १५ जेठ । सम्पर्क विहिन भएको तारा एयरको विमानको स्थलमार्ग र हवाइमार्गबाट खोजी भइरहेको छ । नीजि कम्पनीका दुईटा हेलिकप्टर परिचालन गरेर हराइरहेको तारा एयरको खोजी भइरहेको जनाइएको छ ।
नेपाली सेनाको हेलिकप्टरलाई पनि खोजीका लागि प्रयोग गर्ने तयारी भइरहेको छ । जहाज मुस्ताङको घाँसामा खसेको आशंका गरिएको छ ।
घाँसाका स्थानीयवासिन्दाले ठुलो आवाज आएको र आगो बलेको देखिएको खबर गरेपछि विमान खोजीको टोली उतै केन्द्रीत भएको हो ।
१९ यात्रु र ३ जना चालकदलका सदस्य सहित २२ जना बोकेर विमान पोखराबाट जोमसोम उडेको थियो ।
एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ । अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ ।
१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड गर्नुपर्ने जहाज मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ।