Logo

नेपाल श्रीलंका बन्दैन तर चुनावका निम्ति पैसाको खेलो प्रत्युपादक हुन सक्छः पूर्व गभर्नर क्षेत्री



काठमाडौं, १७ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थतन्त्रका सूचकहरु नकारात्मक भए पनि नेपाल श्रीलंकाको बाटोमा नभएको बताएका छन्
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै क्षेत्रीले भने, “अर्थतन्त्रमा नकारात्मक सूचकहरु छन् । तैपनि नेपाललाई श्रीलंकासँग तुलना गर्नुपर्ने स्थिति छैन । राजस्व १६ अर्बले बढेको छ । पर्यटक मार्चमा ४८ हजार, अप्रिलमा ५२ हजार आए । कोभिडले थला पारेको बेला पनि ५.७८ प्रतिशत वृद्धिदर देखिएको छ । यो राम्रो पक्ष हो ।”
क्षेत्रीले चुनावको निम्ति पैसाको खेलो गर्दा अर्थतन्त्रले लय गुमाउन सक्ने चिन्ता प्रकट गरे । उनले भने, “बजेटलाई राम्रो नराम्रो भन्नु भन्दा पनि समाधानका निम्ति मार्गप्रशस्त गर्ने जमर्को गरेको छ । केही महिनापछि चुनाव हुँदैछ, अहिलेको खेलो त्यही हो । पैसा बाँडे जनता खुसी हुन्छन् भन्ने यसको उद्देश्य होला । तर त्यसको नतिजा प्रतिकूल निस्कन पनि सक्छ । अर्थतन्त्रलाई गलत बाटोमा लान सक्छ ।”
कार्यक्रममा नेकपा एमालेका नेता केशव बडालले बजेट नतिजा उन्मुख नभएको आरोप लगाए । बडालले भने, “तीन घण्टा पाठ गरेको एक शब्दमा भन्ने ? बजेटमा नभएको पनि केही छैन, नतिजा उन्मुख पनि केही छैन । परिणाम निकाल्ने गरी विषय आएका छैनन् । ग्रामीण सहकारीलाई ५० प्रतिशत कर थोपर्नु लज्जाजनक हो । यो सरकारले सहकारी सामाजिक व्यवसाय भन्ने समेत बुझेको देखिएन ।”



प्रतिक्रिया दिनुहोस्