काठमाडौं, ६ असार । काठमाडौं महानगरपालिका मेयर वालेन्द्र (बालेन) शाहले बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको नीतिलाई पछ्याउँदै चलचित्रलाई अनुदान दिने कार्यकम ल्याएका छन् ।
काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर शाह महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्द्धन गर्ने चलचित्रलाई अनुदान दिने जनाएका छन् ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको बुँदा नम्बर ८४ मा महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्द्धन गर्ने विषयका स्वदेशी तथा विदेशी चलचित्र रनाटकका लागि निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गरिनेछ भन्ने उल्लेख छ । महानगरले बागमती प्रदेशले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गरी ल्याएको नीतिलाई पछ्याएको देखिन्छ ।
बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७९र८० नीति तथा कार्यक्रमको बुँदा नम्बर १०५ मा नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गरिनेछ भन्ने उल्लेख छ । त्यसैलाई टेकेर चलचित्रलाई अनुदान दिन बजेट समेत व्यवस्थापन गरिएको छ । चलचित्रलाई अनुदान दिने
बागमती प्रदेशको नीति तथा कार्यक्रम र काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम दुरुस्तै देखिन्छ ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारको आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रममा उक्त कुरा समेटिएको हो ।
चलचित्र क्षेत्रलाई प्रोत्साहन स्वरुप निश्चित रकम अनुदान दिने गरी उक्त कार्यक्रम समावेश गरिएको पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ । पर्यटनमन्त्री श्रेष्ठको प्रस्तावमा बागमती प्रदेशले पहिलोपटक यस्तो कार्यक्रम ल्याएको हो । यो कार्यक्रममा काठमाडौं महानगरपालिकाले पनि एक्यबद्धता जनाएको छ ।
दिपेन्द्रले नै अघि सारेको सम्पदा पदमार्ग जस्तै वालेन्द्रले पनि सम्पदामार्गको अवधारणा अघि सारेको छ । पर्यटनमन्त्री दिपेन्द्रको प्रस्तावमा बागमती प्रदेशको आर्थिक वर्ष २०७९र८० को बजेटमा वसन्तपुरबाट स्वयम्भू जोड्ने पदमार्गका लागि ४० लाख रकम विनियोजन गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्रले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रममा विश्व सम्पदास्थलहरु वसन्तपुर र स्वयम्भू जोड्ने सम्पदामार्गको गुरुयोजना तयार गरिएको छ भन्ने उल्लेख छ ।
बागमती प्रदेशले काठमाडौं महानगरपालिकाभित्रका खाली जग्गामा पार्क बनाउन बजेट विनियोजन गरेको छ । पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको पहलमा संरक्षण गरिएको र भूमाफियाबाट फिर्ता ल्याएको बुद्धनगरस्थित युएन पार्कको जग्गा, थापागाउँ, कुमाले धारा अनामनगर लगायतका ठाउँमा पार्क बनाउन बजेट विनियोजन गरिएको छ । मेयर वालेन्द्रले पनि त्यस्ता खाली जग्गामा पार्क बनाउने घोषणा गरेका छन् ।