काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत एमालले स्पष्ट पारेको छ ।
अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन तयारीमा जुटनुपर्ने’मा जोड दिँदै एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओलीले ‘गठबन्धनसँग सिंगल भिड्ने’ बताएका हुन् ।
आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वतयारीका लागि बसेको बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले ‘वामपन्थी गठबन्धन गर्न गरेको प्रस्ताव अस्वीकार’ गर्दै ओलीले ‘एमालेबाहेक यहाँ अरू कुनै वामपन्थी पार्टी नभएको’ दाबीसमेत गरे ।
‘एमालेबाहेक यहाँ अरू कुनै वामपन्थी पार्टी छैन, छ भने उनीहरूले आफू वामपन्थी भएको पुष्टि गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘हामी एक्लै प्रतिस्पर्धामा उत्रिने हो, उम्मेदवारबारे मापदण्ड तयार गरी त्यसअनुसार तयारीमा जुट्नुपर्छ ।’
एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वाम दलसँगको तालमेल सम्भावना सकिएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका वामपन्थी दलसँग निर्वाचनमा वामगठबन्धन गरेर अघि बढ्नुपर्ने सुझाव आए पनि एमालेले त्यसलाई अस्वीकार गरेको छ । राजधानी दैनिकबाट