Logo

पहिरोले अछाममा १३ जनाको मृत्यु : १० जना बेपत्ता, घाइतेहरुको हेलिकोप्टरबाट उद्धार गर्न गृहमन्त्रीको निर्देशन



अछाम, असोज १ । अछाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको छ । अझै १० बेपत्ता छन् भने १० जनालाई उद्धार गरिएको छ । पहिरोले कमलबजार नगरपालिका–८ मा पाँच जनाको मृत्यु भएको छ ।

कलमबजारकै वडा नम्बर ६ ठाँटीखाँदमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । उनीहरु सबैको शव भेटिएको छ । त्यहाँ अझै तीन जना बेपत्ता छन् भने ७ घाइतेको उद्धार गरिएको छ ।

त्यस्तै गएरातीको पहिरोमा परि वेपत्ता भएका जिल्लाको तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाचौर गाँउकी १६ वर्षीया विमला शाही र जानकी शाहीको शव पनि भेटिएको छ । पहिरोमा हराएका ७ जनाको अवस्था अझै अज्ञात छ ।

उनीहरुको खोजीकार्य जारी छ । अछामकै ढकारी गाँउपालिका–१ मा निरन्तरको वर्षाका कारण घर भत्किँदा एक बालिकाको मृत्युको छ । त्यहाँ अन्य तीनजना सामान्य घाइते भएका छन् ।

जिल्लाकै ढकारी गाँउपालिका–६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढा (बैदार) को घर भत्किँदा उनका एक नातिको च्यापिएर मृत्यु भएको छ । घटनामा तीन जना घाइते भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएकाहरु र प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्रीले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका छन् ।

उनले प्रजिअ मरासिनी र नायब उपरीक्षक डाँगीलाई सरकारको प्रमुख दायित्व नागरिकको जिउँ धनको रक्षा गर्नु भएको भन्दै बाढी र पहिरोमा परि घाइते भएको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्