Logo

कागका साथी रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन (तस्विरहरु)



काठमाडौं, कात्तिक ६ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ ।

विगत १८ वर्षदेखि काग तिहारका अवसरमा राजधानीको रत्नपार्कस्थित शङ्खधर पार्कमा काग सम्मेलन आयोजना गर्दै आएका कलाकार रमेश दुलालले आजपनि कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए ।

दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका हुन् ।

दुलालले विगतका वर्षमा कागको स्वर निकालेर करीब ३०० जति कागलाई एकै ठाउँमा भेला पारिसकेका छन् । यस वर्षको काग सम्मेलनमा भने कागको उल्लेख्य सहभागीता देखिएन् ।

दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ ।

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

तस्विर: मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्