बखतियार अलि–सर्लाही, २९ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा सर्लाही–२ बाट प्रतिनिधिसभाको लागि एमाले–जसपा गठबन्धनका साझा उमेदवार राजनारायण साहले सतारुढ पाँच दलीय गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् । उनले सर्लाहीवासीलाई मुर्ख बनाउनको लागि ठगबन्धन बनेको भन्दै आक्रोश पोखे । उनले सर्लाहीमा एमाले र जसपाको संगठन नै जितको आधार भएको बताए । उनले भने,‘यहाँका जनताले एमाले र जसपाको पवित्र गठबन्धनलाई मतदान गरेर जिताउने छन । कथित गठबन्धनलाई जनताले अस्विकार गर्छन् ।’
साहले सर्लाहीमा एमाले जसपा गठबन्धन ठुलो मतान्तरले विजयी हुने पनि दाबी गरे । आज (मंगलबार) सर्लाहीको सदरमुकाम मलंगवामा मतदाताहरुसंगको भेटघाटमा उमेदवार साहले यस्तो बताएका हुन् । उनले पाँच दलीय गठबन्धनको साझा उम्मेदवार को हो ? भनेर पनि प्रश्न गरे ।
साहले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर मैदानमा रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सो क्षेत्रबाट दुई पटक जितेरपनि केही काम गर्न नसकेको आरोप लगाए । अर्का उम्मेदवार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोमाथि पनि उनी खनिएका छन् । महतोले पनि जिल्लाको विकासको लागि केही योगदान नगरेको उनको आरोप छ ।
उनले मुलुकमा विकास पुरुष भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चित्रण गरे । उनले भने,‘यो देशको विकास पुरुष केपी ओली हो, अनि मधेशको मसिहा उपेन्द्र यादव हो । उपेन्द्र यादवले मधेशी जनताको लागि पहिचान तथा अधिकारको लडाई लड्नुभएको छ । उहाँमात्रै मधेशको सच्चा नेता हो ।’