स्याङ्जा, मंसिर १५ । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेर अग्रता लिएका हुन् ।
निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेकी छन् । स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।
यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।